काठमाण्डौ । नेपाल उद्योग परिसंघले कोरोनाभाईरसका कारण उत्पन्न विषम परिस्थितिसँग जुध्न विभिन्न तहमा आवश्यक खाद्यान्न सामाग्री वितरणलाई जारी राखेको छ । विविध कारणले खाद्य सामाग्री अभाव भएकाहरुलाई परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री उपलब्ध गराउने प्रयास गरिरहेको जनाएको छ ।

आज एक कार्यक्रममा कर्णली प्रदेश उद्योग परिसंघका संयोजक टेक बहादुर भण्डारीले कर्णाली प्रदेशका मुख्यमन्त्री  महेन्द्र बहादुर शाहीलाई राहत सामाग्री उपलब्ध गराए । एक हजार थान खाद्यान्न लगायतका सामाग्री रहेको प्याकेट प्रदेश सरकारले आवश्यकता अनुसार वितरण गर्ने भनिएको छ । त्यस्तै आजै काठमाण्डौ महानगरपालिकाको भिमसेनगोला क्षेत्रका विपन्न परिवारलाई परिसंघका अध्यक्ष सतिशकुमार मोर तथा वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले खाद्यान्न समाग्री वितरण गरे ।

प्रदेश सभा सदस्य  गणेश प्रसाद दुलाल, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, काठमाण्डौ जिल्ला प्रमुख अधिकारी जनकराज दाहाल तथा ३१ नं वडा अध्यक्ष नारायणप्रसाद भण्डारी लगायतकाको रोहवरमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका प्यकेटहरु वनाई हस्तान्तरण गरिएको जनाइएको छ । परिसंघले नेपालका सवै प्रदेश लगायत काठमाण्डौ, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराउदै आएको दाबीसमेत गरेको छ ।