काठमाण्डौ। नेपालको साहसिक पर्यटन प्रवर्द्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघादेखि सुदूरपश्चिमको सिमिकोट हिल्सासम्म एकल साइकल यात्रा सुरु गर्ने भएका छन्। 

साईकल यात्रामा निस्कन लागेका लामालाई आइतबार पर्यटन बोर्डमा बिदाइ गरिएको छ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र जीएचटी अन ह्विलको आयोजनामा हुन लागेको यो यात्रामा विभिन्न संघसंस्थाहरुको सहयोग रहेको लामाको यो यात्रा १७ सय किलोमिटर लामो रहनेछ।  

बिदाइ कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहले नेपालमा साहसिक पर्यटनको प्रचूर सम्भावना रहेको उल्लेख गर्दै लामाको साइकल यात्राले नेपालको साहसिक पर्यटनमा थप टेवा पुग्ने बताए। उनले साहसिक पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ सकारात्मक रहेको समेत बताए। 

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले साहसिक पर्यटन नेपालको पहिचान भएको बताउँदै बोर्डले सीमित स्रोतसाधनका बीच काम समग्र पर्यटन प्रवर्द्धनको काम गरेको जानकारी दिए। 

बोर्डका निर्देशक मणिराज लामिछानेले साहसिक पर्यटन प्रवर्द्धनका लागि बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै यो रुटलाई नयाँ प्रडक्टको रुपमा प्रवर्द्धन गर्न र साहसिक पर्यटनमा सहभागीलाई बोर्डले सक्दो सहयोग गर्ने आश्वासन दिए। 

यस्तै बोर्डकी प्रबन्धक अर्चना केसी राणाले यस प्रकारका कार्यक्रमले नेपाली पर्यटनमा नयाँ आयाम थप्ने बताउँदै लामालाई सफल यत्राको शुभकामना व्यक्त गरिन्। 

साइक्लिस्ट लामाले आफ्नो पहिचान भन्दा पनि देशको पहिचानका लागि आफूले कठिन र जोखिमपूर्ण यात्रामा निसक्न लागेको बताए। उनले यस प्रकारका कार्यक्रममा बोर्डसहित अन्य सरकारी निकायको सहयोग आवश्यक रहेको बताए। 

लामाले चैत्र १८ अर्थात अप्रिल १ गते देखि कञ्चनजंघादेखि साइकल यात्रा सुरु गर्ने र सो यात्रा ६० देखि ७० दिनसम्मको हुने आयोजकले जानकारी दिएका छन्। लामा व्यवसायिक माउन्टेन बाइकर हुन्। उनले देश तथा विदेशमा आयोजित विभिन्न प्रतियोगितमा भाग लिएका छन्।