काठमाण्डौ । दोश्रो चरणको मतदान सकिएलगत्तै आज साँझ ५ बजेदेखि पहिलो चरणमा मतदान भएका जिल्लाहरुमध्ये अधिकांश ठाउँमा मतगणना सुरु भएको छ । 

यो समाचार तयार पार्दासम्म प्राप्त जानकारी अनुसार केही जिल्लाहरुबाट मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएका छन् । जस अनुसार अधिकांश ठाउँमा बाम गठबन्धनका उम्मेद्वारले फराकिलो मत अन्तरले अग्रता लिएका छन् । 

रुकुम(पूर्व)मा ११ सय ५९ मतगणना हुँदा कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५ मत ल्याएका छन्, जबकि वाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३ मत प्राप्त गरेका छन् । यो ठाउँमा नयाँ शक्ति नेपाल पार्टीका जितमान पुनले २३२ मत पाएका छन् । 

जाजरकोटको प्रारम्भिक मतगणना अनुसार बाम गठबन्धनका उम्मेद्वार शक्ति बस्नेतले ६१३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिदन्दी राजविक्रम शाहले ४३४ मत प्राप्त गरेका छन् । 

चर्चाको शिखरमा रहेको गोरखामा नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रारम्भिक मतपरिणाममा प्रतिदन्दी नारायणकाजी श्रेष्ठलाई फराकिलो मत अन्तरले अग्रता लिएका छन् । २०० मत गन्दा बाबुरामको ६६ मत आएको छ भने नारायणकाजीको १७ मत आएको छ ।