काठमाण्डौ । पूर्वसचिव अर्जुन कुमार कार्कीले ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि हासिल गरेका छन्। 

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको नेपाल चेम्बर गल्फ टुर्नामेन्टको पहिलो संस्करणको उपाधि कार्कीले जितेका हुन्। रोयल नेपाल गल्फ क्लबमा शनिबार ४१ स्कोर कार्डसहित कार्कीले उपाधि जिते। 

स्टेबल फोर्ड ३÷४ ह्यान्डीक्याप फम्र्याटमा भएको प्रतियोगिताको पहिलो दिन शुक्रबार २३ स्कोर बनाएका कार्कीले दोस्रो दिन १८ स्कोर जोड्दै उपाधि जितेका हुन्। ३६ स्कोर बनाएका कृष्ण पुन काउन्ट ब्याकको आधारमा उपविजेता बने। 

महिलातर्फको उपाधि गीता गुरुङले जितिन्। उनले ३८ स्कोर बनाइन्। रेखा घिमिरे ३५ स्कोरसहित उपविजेता बनिन्। 

सिनियर पुरुषतर्फको उपाधि पूर्व सेनाप्रमुख जनरल गौरव शमशेर राणाले उचालेका छन्। सिनियर पुरुषतर्फ दिलीपजंग रायमाझी उपविजेता बने। 

चेम्बरतर्फको उपाधि एसएसपी अशोक सिंहले जित्दा उपविजेता पवित्र कुमार कार्की भएका छन्। प्रतियोगितामा उत्कृष्ट ग्रस र मस्ट बर्डिजको उपाधि हृदेश कुमार सिंहले जिते। लङ्गेस्ट ड्राइभको उपाधि श्रीजय आचार्यले जित्दा क्लोजेस्ट टु पिनको उपाधि तेजबहादुर राईले जितेका छन्। 

विजेता तथा उपविजेताहरूलाई प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। 

नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबको संयुक्त आयोजनामा भएको दुईदिने प्रतियोगितामा ८८ जना खेलाडीको सहभागिता रहेको थियो । नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी अनुसार प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको हो ।