भारतबाट आएर नेपालमा व्यापार गरिरहेका मारवाडी समुदायले विसं १९९० सालमा नेपालमा भूकम्प जाँदा उद्धार, उपचार र शिविर चलाएर जुद्ध शमशेरको मन जितेका थिए । त्यसपछिको पुनर्निर्माणमा जुद्ध सडकको पहिलो लहरमा केही नयाँ पसल निर्माण भए । भूकम्पमा राम्रो काम गरेबापत पुरस्कारस्वरूप तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले त्यसमध्येको एउटा पसल भुरामल चौधरीलाई चलाउन दिएका थिए । यसरी १९९० को महाभूकम्पपछि चौधरी ग्रुपको जग बसेको थियो । त्यसको ८२ वर्षपछि ०७२ मा गएको भूकम्पका कारण जनधनको ठूलो क्षति हुँदा चौधरी ग्रुपले सर्वसाधरणका लागि ‘ट्रान्जिसनल घर’ निर्माण गरिरहेको छ । ८ दशकअघि काठमाडौंको चोकचोकमा कपडाको पोको बोकेर घुमुवा व्यापार गर्ने भुरामल चौधरी छोरा लुनकरणदासलाई सँगै घुमाउँथे । जुद्ध शमशेरको शासनकालमा दरबारमा समेत कपडा लगेर बेच्थे भुरामल । बालक लुनकरणदासलाई त्यही वेलादेखि व्यापारमा चाख लागेको थियो ।
जुद्ध शमशेरले भुरामललाई दिएको सो पसल उनले छोरा लुनकरणदासको नामसमेत जोडेर ‘भुरामल लुनकरणदास चौधरी’को ब्यानरबाट औपचारिक र संगठित कपडा पसल सुरु गरे । त्यसको ८ दशकपछि चौधरी ग्रुप अहिले नेपालकै पहिलो बहुराष्ट्रिय समूह बनेको छ । बाबुसँग सिकेर सानैमा व्यापारमा लागेका लुनकरणदासले आफ्ना बाबुले सुरु गरेको व्यापार सम्हालेनन् मात्र, त्यसलाई संस्थागत गर्दै आफू संस्थापक अध्यक्ष भएको चौधरी ग्रुपको साम्राज्यलाई बहुराष्ट्रिय बनाउन इट्टा थपे । आफ्नो व्यापारको दायरालाई अन्तर्राष्ट्रियकरण गराउन योगदान पुर्याउने उनै लुनकरणदास चौधरी ९३ वर्षको उमेरमा १३ दिनअघि संसारबाट अस्ताएका छन् ।
हाल चौधरी ग्रुपभित्र ४० वटा उद्योग छन्, त्यही उद्योगका माध्यमबाट ग्रुप विश्वबजारमा चिनिएको छ । शिक्षा, स्वास्थ्यलगायतका सेवा क्षेत्रमा समेत ठूलो लगानी छ । यसको प्रमुख श्रेय जान्छ, लुनकरणदास चौधरीलाई । जुद्धशमशेरले पसल चलाउन अनुमति दिएपछि पहिलो वर्षको २ सय र पछि ५ सय भाडा तिरेर अहिलेको विशालबजारको ठीकअगाडि व्यापार सुरु गरेका लुनकरणदासले स्थापना गरेको चौधरी ग्रुपमा अहिले १० हजारभन्दा बढीले रोजगारी पाएका छन् । काठमाडौंको मखन टोलमा १९७९ सालमा जन्मेका लुनकरणदास चौधरीले आफ्नो बाबुको शेषपछि २३ वर्षको उमेरमा व्यापार सम्हाले । उनले ‘भुरामल लुनकरणदास पसल’ र ‘अरुण इम्पेक्स’को नामबाट स्थानीय तवरमा गर्दै आएको व्यापारलाई नेपालबाहिर पनि जोडेका थिए । त्यसवेला विराटनगरबाट जुट निर्यात गरेर धेरै व्यवसायी चम्केका थिए ।
त्यसैमा सामेल भएर लुनकरणदासले विराटनगर जुट उद्योगको स्थापना गरे र भारत, अमेरिका र युरोपमा जुट निर्यात गरे । यसरी काठमाडौंबाहिर ‘भुरामल लुनकरणदास चौधरी’को शाखा विस्तार भयो । निकासीको कामपछि उनले जापान र कोरियाबाट फेब्रिक आयात सुरु गरे । व्यापार मात्र गर्दै आएको चौधरी परिवारमा लुनकरणदासले उद्योगसँगै निर्माण क्षेत्रमा पनि हात हाले । २०१४ सालमा काठमडौं–त्रिशूली सडक निर्माणको वेला ‘सब कन्ट्रयाक्ट’ पाए । त्यो अनुभवले सोल्टी होटेल निर्माणको ठेक्का लिए । त्यसपछि साझेदारीमा युनाइटेड बिल्डर्सको नाममा कन्स्ट्रक्सन कम्पनी खोले ।
नेपालमा सजावटमा धेरैको चासो बढेपछि २०२० मा नेपालको पहिलो फ्लोरिङ एन्ड फर्निसिङ आउटलेट खोले, जुन जुद्धशमशेरले १९९० पनि अनुमति दिएको पसलमा खोलिएको थियो । यो व्यापार यसरी चम्क्यो कि काठमाडौंमा २ वटा र विराटनगरमा एउटा शाखा खोल्नुपर्यो । उनले ०२२ सालमा वीरगन्जमा केडिया परिवार र निरञ्जन जाटियाहरूसँग मिलेर मोर्डन होजियारी उद्योग स्थापना गरी उच्च गुणस्तरको होजियारी सामान उत्पादन थाले । जसको ब्रान्ड राखे, ‘राइनो’ । राइनोले आयातीत फेब्रिकसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्यो । लगत्तै त्यही वर्ष चौधरीले नेपाल स्पिनिङ वेभिङ एन्ड निटिङ उद्योग स्थापना गरे । जसले विदेशबाट आयातीत उनी धागोबाट विभिन्न आधुनिक लत्ताकपडाहरूको उत्पादन गथ्र्यो ।
त्यसको २ वर्षपछि उनले वीरगन्जमा रत्न स्टेनलेस स्टिल उद्योग स्थापना गरे । यसले विभिन्न आधुनिक भाँडाहरूको उत्पादन थालेको थियो । परम्परागत व्यापारलाई संस्थागत गर्दै उद्योगमा प्रवेश गरेका लुनकरणदासले विराटनगरमा नै पशुपति बिस्कुट, महालक्ष्मी मैदा मिलको पनि स्थापना गरेका थिए, जुन अहिले पनि चालू छन् । नेपालबाट बिस्कुट निर्यात गरेर उनले भारतका प्रचलित ब्रान्ड ब्रिटानिया र पार्लेसँग प्रतिस्पर्धा गरे । उनले ०२५ सालमा अरुण इम्पोरियमका नाममा खिचापोखरीमा नेपालको पहिलो र ठूलो आधुनिक डिपार्टमेन्टल स्टोर खोलेका थिए । जहाँ तयारी कपडा, इलेक्ट्रोनिक्सलगायत उपभोग्य सामान राखिएको थियो । यो स्टोर नेपालीमाझ मात्र नभएर नेपाल आउने र बस्ने भारतीयमाझ पनि प्रख्यात र आकर्षक थियो ।
त्यसको २ वर्षपछि उनले आधुनिक अवधारणासहित आयात र निर्यात व्यापारका लागि अरुण इम्पेक्स खोले । यसले लत्ताकपडा, निर्माण सामग्री, हार्डवेयर, खाद्यान्न तथा मसलाहरू आयात–निर्यातको काम गथ्र्याे । चौधरी ग्रुप अहिले कुन क्षेत्रमा फैलिएको छैन ? वाइवाइ चाउचाउ उत्पादन गरेर प्रख्यात भएको चौधरी ग्रुपले वाइवाइलाई नेपाल र भारतमात्र होइन, युरोप अफ्रिकासम्म पुर्याएको छ । बायोटेक र आयुर्वेदमा समेत यसको लगानी छ । सिजी सिमेन्ट होस् या सिजी इलेक्ट्रोनिक्स, जडीबुटी, खाद्यान्न, निर्माण होस् या सजावट कुनै न कुनै माध्यमबाट प्रत्येक नेपालीको घरमा चौधरी ग्रुप छिरेको छ । नेपालकै पहिलो पाँचतारे अस्पतालका रूपमा चिनिने नर्भिक इन्टरनेसनल हस्पिटलमा चौधरी ग्रुपकै लगानी छ । हस्पिटलले मेडिकल कलेजमा पनि लगानी गरेको छ । चौधरी ग्रुपले शिक्षा क्षेत्रमा चाँदवाग स्कुल, दिल्ली पब्लिक स्कुल, क्याम्पियन स्कुल तथा कलेज, सिजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट, प्रिमियर कलेज, एक्सल कलेजमा लगानी गरेको छ । सिजी सोलारदेखि बैंक तथा वित्तीय संस्थामा पनि आफूलाई अगाडि नै उम्भ्याएको छ । सिजी फिन्कोमार्फत वेस्टर्न युनियनमा होस् या युनाइटेड फाइनान्स, युनाइटेड इन्स्योरेन्स, नबिल बैंकमा होस् वित्तीय क्षेत्रको लगानी बढिरहेको छ । सिजी मार्ट, सिजी मनी पनि चौधरी ग्रुपका उत्पादन हुन् । तयारी खाद्यपदार्थमा वाइवाइबाहेक मामा भुजिया, क्विक्स चिजबल्स र आलु चिप्स चौधरी ग्रुपकै उत्पादन हुन् ।
पेयपदार्थमा सिजी बेभरेजमार्फत पानी होस् या रियो, नेपालमा उत्पादन थालेर विदेशी बजारमा चौधरी गु्रपले पुर्याएको छ । चुरोटदेखि बियरमा समेत यसको लगानी छ । पूर्वाधार क्षेत्रमा होटेल, रिसोर्ट, रियलस्टेटदेखि टेलिकमसम्ममा चौधरी ग्रुपको लगानी छ । सिजी मोटोकर्पमार्फत ग्रुपले सवारीसाधनको व्यवसायसमेत गर्छ । सिजी सिटिस्केप, कुसुम आयल इन्डस्ट्रीमा समेत चौधरी ग्रूपको लगानी छ । बिजुली गतिमा फैलिएको र प्रगति भएको चौधरी गु्रपको सबै व्यवसायमा उनै लुनकरणदास चौधरीको सूत्र जोडिएको छ । उनका ३ छोरा विनोद, वसन्त र अरुण चौधरी छन् । त्यस्तै, १ छोरी कुसुम अग्रवाल छिन् ।
उनका जेठा छोरा विनोद विश्वका अर्बपतिको सूचीमा छन् । जेठा छोरा विनोद भन्छन्, ‘आज हामी जुन स्थानमा छौँ त्यो सबै बुबाका कारणले भएको हो । बुबाले हरेक पाइलामा हामीलाई व्यापार सिकाउनुहुन्थ्यो । उहाँकै पदचाप पछ्याउँदै चौधरी ग्रुपलाई विश्वव्यापी बनाउन सफल भएका छौँ ।’ त्यो वेला आधुनिक व्यापारदेखि आयात–निर्यात र उद्योगधन्दा चलाउने कुरा चानचुने नभएको उनको तर्क छ । ‘उहाँले धेरै कुरामा आँट गर्नुभयो,’ उनी भन्छन्, ‘परिवार र व्यापार दुवैलाई नयाँ उचाइमा पुर्याउनुभयो, यो विरासत थाम्दै हामीले थप उचाइमा पुर्याउनेछौँ ।’ नेपाली चेम्बर अभियानमा सुरुदेखि लागेर त्यसलाई चलायमान बनाउन पनि लुनकरणदास चौधरीको योगदान छ । उनी नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य संघका संस्थापक सदस्यसमेत हुन् । मारवाडी सेवा समिति नेपालका संस्थापक सदस्य रहेका लुनकरणदास चौधरीले स्वास्थ्य, शिक्षा, कला, साहित्यका लागि पनि विभिन्न संस्था स्थापना गरेका थिए ।
लुनकरणदाससँग नजिक रहेका पूर्वमूख्यसचिव दामोदर गौतम भन्छन्, ‘उहाँ जहिले पनि नेपालमा उद्योग व्यापार फल्यो फुल्यो भने नेपाल राष्ट्र, नेपाल सरकार र नेपाली जनता बलिया र धनी बन्न सक्छन् भन्ने विश्वास राख्नुहुन्थ्यो । सरकारले व्यापारीलाई बलियो हुने मौका दिनुपर्छ भन्ने उहाँको मत थियो । यही सिद्धान्तका आधारमा सरकारले व्यापारीलाई माया गर्नुपर्छ र व्यापारीले पनि सरकारलाई तिर्नुपर्ने उचित कर तिर्नुपर्छ भन्ने उहाँको मान्यता थियो ।’ उनका कान्छा छोरा अरुण भन्छन्, ‘बुबाले कहिल्यै पनि कुनै काममा हस्तक्षेप गर्नुहुन्थेन । हामीले गरेको कामको टाढाबाट नै निरीक्षण गर्नुहुन्थ्यो ।’
-नयाँपत्रिकाबाट
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago