काठमाण्डौ । भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ३४)ले शनिबार (जेठ १३ गते) कास्कीको पोखरास्थित सिर्जनामा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गरेको छ। 

संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको भिजनले जनाएको छ। शाखा कार्यालयबाट धितोपत्र कारोबारसम्बन्धी पूर्ण सेवा प्रवाह गर्न नियामक निकायहरुवाट केही समय अगाडि अनुमतिप्राप्त भएकाले सोही अवसरमा पोखराको बिरौटास्थित शाखा कार्यालयको औपचारिक उद्घाटनसमेत गरिएको थियो।

कार्यक्रम भिजनका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाको सभापतित्व तथा गण्डकी प्रदेश सरकार, आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आले मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा भेञ्चर क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीमप्रसाद पन्त, कास्की उद्योग वाणिज्य संघका प्रतिनिधि सुदिप ओझा, सीएमसी कास्कीका अध्यक्ष अपिल कोइराला, राखी युवा सर्कल कास्कीका अध्यक्ष विकास रानाभाट, वरिष्ठ लगानीकर्ता राजु पौडेललगायतको उपस्थिति थियो। 

कार्यक्रम सञ्चालन भिजन पोखरा शाखाकी इन्चार्ज उमादेवी शर्माले गरेकी थिइन्। 

कार्यक्रममा दोस्रो बजारमा कारोबार गर्नका लागि आवश्यक प्रक्रिया, लगानीकर्ताले ध्यान दिनुपर्ने विषय, लगानीकर्ताले गर्ने गल्तीहरु, लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, अनलाइन कारोबारसम्वन्धी व्यवस्थालगायतका विषयमा कार्यकारी अध्यक्ष तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए। कम्पनीहरुको आधारभूत प्राविधिक विश्लेषण सम्बन्धमा भेञ्चर क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए। 

भिजन सेक्युरिटिजले धितोपत्र कारोवारको विकास तथा विस्तारका लागि उपत्यकाबाहिर ९ वटा तथा उपत्यकाभित्र ३ वटा गरी जम्मा १२ स्थानमा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको छ।