काठमाण्डौ । स्थानीय निकायको पहिलो चरणको निर्वाचनअन्तरगत क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगर पोखरामा पार्टीको तर्फबाट मेयरको टिकट पाएको भन्दै नरेशशंकर पलिखेलाई शुुभकामनाको ओइरो आइरहेको थियो । पार्टी केन्द्रीय कार्यालयबाटै पलिखेलाई टिकट दिइएको, देउवा र पौडेल समूहले नै समर्थन गरेको भन्दै उनलाई फोनहरुको बर्षा भइरहेको थियो । खुशी मुद्रामा देखिएका उनले पनि मातहतका कमिटी तथा कार्यकर्ताहरुलाई जित्ने गरी चुनावको तयारी गर्न आग्रह गरिसकेका थिए । 

पोखराका पुराना पर्यटन व्यवसायी र जनस्तरमा भिजेका नेता भएकै कारण पलिखेले जित्नेमा कांग्रेस कार्यकर्तामा ठूलो आशा थियो । उनीसँगै उपमेयरमा चन्द्रावती पौडेलको नाम आयो, उनको पनि खुशीको सीमा थिएन, शुुभकामनाको उस्तै ओइरो । 

अघिल्लो साँझको यो निर्णयले सनसनी मच्चाइसकेको थियो, यसैलाई आधार बनाएर पोखराका स्थानीय पत्रपत्रिका तथा टेलिभिजन रेडियोहरुमा समेत पलिखे र पौडेलकै नाम आयो । पत्रपत्रिकाले समेत उच्च प्राथमिकताका साथ पलिखेले टिकट पाएको खबरलाई प्राथमिकता दिए । तर, रात रह्यो अग्राख पलायो भने झै पलिखेले टिकट पाएको हेडलाइनले रंगिएका अखबारहरुको मसी नसुुक्दै  काठमाण्डौको सानेपा दरबारमा चलखेल भइसकेको थियो । सयौंको शुुभकामना थापिसकेका पलिखे र पौडेल त्यसबेला खिस्स परे, जब मेयर र उपमेयरको उम्मेद्वारकै नाम फेरिएको खबरले सनसनी मच्चायो । नभन्दै, खबर पक्का थियो, सानेपा दरबारमा अर्जुननरसिंह केसीले आफ्ना बहिनीज्वाइँ रामजी कुँवरको पक्षमा रातारात निर्णय गराइसकेका थिए । उनलाई साथ थियो आफ्नी छोरीज्वाइँ गगन थापाको । ससूरा ज्वाइँको रातभरिको पहलले पोखराको मेयरमा रामजी कुँवरले टिकट फुत्काइसकेका थिए । पलिखे मात्र होइन, चन्द्रावती पौडेलको उपमेयरको यात्रामा समेत रातभरमै ठूलो चलखेल भई ब्रेक लागिसकेको थियो । उनको ठाउँमा सरस्वती गुरुंगलाई छनौट गरिसकिएको थियो । 

अन्ततः नेताको त्यही बहिनी ज्वाइँप्रेमले पोखरामा कांग्रेसको जहाज डूूबेको छ । केसी परिवारले गरेको रातारातको षड्यन्त्रविरुद्ध खुलेरै लागेका पलिखे र पौडेलहरुले धोकेवाज सिंगो नेतृत्वलाई देखाइदिंदा पोखरामा कांग्रेस डूूब्यो र उक्सियो एमाले ।
पोखरा लेखनाथ महानगरपालिकामा करिब १४ हजार मत अन्तरले एमालेले मेयर र उपमेयर दुवैमा शानदार जित हासिल गरेको छ । 

त्यसो त पोखराको मतगणना २० प्रतिशत पनि नसकिँदै कांग्रेसका पोखरा नगरका सभापति बजिरमान श्रेष्ठले लज्जाजनक हार हुने भन्दै नैतिकताको हिसाबले गत शुक्रबार नै राजीनामा दिइसकेका थिए । उनको राजीनामापछि कांग्रेस कार्यकर्ताहरुको मनोबल हारिसकेको थियो, सबै औपचारिक हारको प्रतिक्षा मात्र गरिरहेका थिए । सभापति श्रेष्ठले आफ्नो राजीनामामा समेत आफ्ैनभित्र ठूलो अन्तरघात भएको र यसले पार्टीले नजित्ने भविष्यवाणी समेत गरेका थिए, अन्ततः उनको भविष्यवाणी र विश्लेषण नै सही ठहरियो । 

उनले राजीनामा दिइरहँदा पोखराका ११ वटा वडाको परिणाम आइसकेको थियो । कांग्रेसले ७ वटा वडामा विजय हासिल गरे पनि मेयरमा चाहि एमाले उम्मेदवर जिसीको अग्रता थियो । वडामा पार्टीले जित्नुु, तर पार्टीको मेयरको उम्मेद्वार चाहि पछि पर्नु नै हार्नसक्ने संकेत थियो, श्रेष्ठले त्यसैमा टेकेर विश्लेषण गरेका थिए । अन्तरघातको यो श्रृंखला मतगणना अन्तिम चरणमा रहँदासम्म जारी रह्यो, अन्ततः कांग्रेसका मेयरका उम्मेद्वार कुँवर एमाले उम्मेद्वार मानबहादुर जिसीसँग नराम्ररी पछारिए ।

पकड क्षेत्रमै हार
पोखराको मतगणनाको क्रममा अन्तरघात सतहमै प्रष्टिएको थियो । कारण, यो महानगरको जुन–जुन वडामा कांग्रेसको राम्रो पकड थियो, कांग्रेसका मेयर उम्मेद्वार कुँवर तिनै ठाउँमा पछि परे । कांग्रेसभित्रको गाँड कोराकोरको फाइदा चाहि एमालेले उठायो । एमालेभित्र पनि केही वडामा अन्तरघातको डर थियो, तर कांग्रेसभित्रजस्तो चरम असन्तुष्टि थिएन । 

त्यसो त पलिखे खेमाका एक नेताले सुनियोजित रुपमै कांग्रेस नेताका ज्वाइँलाई हराउन आफूहरु सक्रिय रहेको दाबी गरे । नाम उल्लेख नगर्ने शर्तमा उनले बिजशालासँग भने–‘पार्टीका नेताले रातारात निर्णय परिवर्तन गरी कसैको प्रतिष्ठा र करिअरमाथि खेलवाड गर्न मिल्छ भने हामीले हाम्रो ठाउँमा हाम्रो तागत देखाउन किन नमिल्ने ?’ 

फेल खायो कांग्रेसको गणित
पोखरा महानगरमा कांग्रेसले आफ्नो पकेटभित्रको मत भनेर ६२ हजारको हाराहारीलाई मानेको थियो । थोरै मत यताउता हुँदा पनि कम्तीमा पनि ५० हजार मत आफूहरुलाई आउने उसको विश्लेषण थियो । पोखरामा मेयरमा कांग्रेसलाई माओवादीको समर्थन रहेकोले उसको भोट समेत थपिने कांग्रेसको विश्लेषण थियो । पोखरामा माओवादी केन्द्रको भोट २० हजारको हाराहारीमा रहेको र त्यसमध्ये ५० प्रतिशत मात्रै आफ्ना उम्मेद्वारलाई झरे ६० हजारको हाराहारीमा मत ल्याई आफूहरुले जित्ने कांग्रेसको विश्लेषण थियो । तर, यो यो गणित नै उल्टो भइदियो । अन्तरघातको असर कुन स्तरमा हुन्छ भन्ने आँकलन कांग्रेसभित्रको गणित मिलाउन नसक्नेले गर्न नसक्दा एमालेको पक्षमा पासा पल्टियो । 

देखाइदियो माओवादीले
अर्कोतर्फ, कांग्रेसले माओवादीसँगकै सहकार्यमा समेत भूल गर्यो । चितवनमा माओवादी केन्द्रलाई मेयरमा समर्थन गरेपछि पोखरामा कांग्रेसलाई मेयरमा समर्थन गर्ने सहमति थियो । त्योसँगै चितवनमा उपमेयरमा कांग्रेसलाई माओवादीले सहयोग गर्ने र पोखरामा माओवादीलाई उपमेयरमा कांग्रेसले सहयोग गर्ने सम्झौता थियो । तर, स्थानीय नेतृत्वले यो सम्झौता बिर्सियो र पोखरामा माओवादीको उपमेयरलाई समर्थन गर्न छाडेर आफ्नै उपमेयर सरस्वती गुरुङलाई प्रस्तुत गर्ने गल्ती भयो । यसले समेत माओवादीबाट आउनुपर्ने भोट समेत कांग्रेसलाई आएन । बरु, माओवादीले समेत उपमेयरमा आफ्नो उम्मेद्वारलाई सहयोग नगरेको झोकमा सुकुम्बासी बस्ती लगायतका प्रगतिशील मतदाताहरुको भोट आन्तरिक रुपमा एमालेका मेयरका उम्मेद्वारलाई हाल्न लगायो । यसले समेत कांग्रेसको जित टारिदियो ।