पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

फाइनान्सको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा नियुक्त भएका गुरुङले नेपाल राष्ट्र बैंकको गण्डकी प्रदेश कार्यालय पोखराकी निर्देशक आर्या जोशीबाट शुक्रबार अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन्।

कार्यक्रममा निर्देशक जोशीले नवनियुक्त अध्यक्ष गुरुङलाई सपथ ग्रहण गराउँदै राष्ट्र बैंकको निर्देशिकाको पूर्ण पालना गर्दै संस्थागत सुशासनमा ध्यान दिएर कुशल नेतृत्व प्रदान गर्न शुभकामना दिएकी थिइन्।

सपथ ग्रहण कार्यक्रमको प्रारम्भमा पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले नवनियुक्त अध्यक्ष गुरुङका बारेमा संक्षिप्त जानकारी गराएका थिए।

सोही अवसरमा अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा पोखरा फाइनान्सलाई ग्राहकको रोजाइको फाइनान्स बनाउने र सेयरधनीलाई उच्च प्रतिफल दिन प्रतिबद्ध रहने विचार व्यक्त गरे।

नवनियुक्त अध्यक्ष गुरुङले सपथ ग्रहण कार्यक्रममा मन्तव्य राख्दै पोखरा फाइनान्सको अध्यक्ष पदमा नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे। उनले राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पूर्ण पालना गर्दै फाइनान्सको प्रगतिका लागि हरदम प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरे।