काठमाण्डौ । कांग्रेससँगको पूर्व सहमति अनुसार नै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुुष्पकमल दाहाल(प्रचण्ड)ले आज राजीनामा दिने भएका छन् । 

प्रचण्डले आज दिउँसो १ बजे व्यवस्थापिका संसदमा विशेष सम्बोधन गरी राजीनामा दिने उनका प्रेस संयोजक गोविन्द आचार्यले जनाएका छन् । 

केपी ओली सरकारलाई गिराएर कांग्रेस र माओवादी केन्द्रबीच भएको सत्ता गठनको सहमति अनुसार नै प्रचण्डले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेको हुन् । प्रचण्ड सरकार गठनको क्रममा कांग्रेस र माओवादीबीच ९ महिनासम्म प्रचण्डले सरकार चलाउने र स्थानीय निर्वाचन गरेर कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति बनेको थियो । सोही सहमति अनुसार स्थानीय निर्वाचनको पहिलो चरणको निर्वाचन गराएर सरकारबाट बाहिरिन प्रचण्ड आतुुर देखिएका हुन् । कतिपयले दोश्रो चरणको चुनाव समेत गराउनुपर्ने सुुझाव दिए पनि प्रचण्डले राजीनामा दिने हतारो गरेका हुन् । 

सोमबार बसेको माओवादीको हेडक्वार्टर बैठकले पनि कांग्रेससँग बैशाख ३१ गते चुनाव गराएर कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको र सोही अनुसार अब प्रचण्डले राजीनामा दिनुपर्ने निश्कर्ष निकालेको थियो । 

प्रचण्डको राजीनामापछि व्यवस्थापिका संसदले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नेछ । यो प्रक्रियाका लागि केही साता लाग्ने भएकोले जेठ १५ मा आउने बजे कामचलाउ सरकारले नै प्रस्तुत गर्ने बताइएको छ । संसदमा बजेट अधिवेशन सोमबारदेखि सुरु भइसकेको छ ।