काठमाण्डौ । प्रभु बैंक लिमिटेड जावलाखेल युवा क्लबको मुख्य प्रायोजक बनेको छ ।

प्रभु बैंक र ललितपुरको ललितपुर महानगरपालिका–१३ जावलाखेलस्थित जावलाखेल युवा क्लबबीच मुख्य प्रायोजक हुने सम्बन्धमा आइतबार सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले एक समारोहबीच हस्ताक्षर गरेका छन् ।

यो सम्झौतासँगै अब जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक रहनेछ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद रु. २५ लाख उपलब्ध गराउनेछ । सोबापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक रहनेछ ।

जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुदसम्बन्धी प्रतियोगितामा प्रभु बैंक लि. जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ । जावलाखेल युवा क्लबले प्रभु बैंकमा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार सञ्चालन गर्नेछ ।

जावलाखेल युवा क्लबको खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ बोर्ड र डिस्प्ले बोर्ड लगाई प्रभु बैंकले उपलब्ध गराएको विज्ञापन सामग्री प्रचारप्रसार गर्नेछ । जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीले सहभागिता जनाउने जुनसुकै खेलमा प्रभु बैंक लेखेको जर्सी लगाउनेछन् । जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुदसम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा प्रभु बैंकको विज्ञापन प्रशारण गर्नेछ ।

यस सम्झौताले जावलाखेल युवा क्लबका खेलाडीमा हौसला बढ्न गई उच्च मनोबलका साथ सबै प्रतियोगिताहरुमा सहभागिता जनाई समग्र देशको खेलकुद क्षेत्रको विकासमा विशेष योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।