काठमाण्डौ । प्रभु बैंक लिमिटेड र गैरआवासीय नेपाली संघबीच मंगलबार विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैकिङ सेवासम्बन्धी सम्झौता भएको छ। 

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र संघका तर्फबाट अध्यक्ष विनोद कुवँरले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार ‘मातृभूमिको सम्मानका लागि नेपालमा खाता खोलौँ’ भन्ने मूल नाराका साथ प्रभु बैंक र संघको सहकार्यमा गैरआवासीय नेपाली तथा संघका सदस्यहरुले विदेशका जुनसुकै देशहरुबाट पनि विदेशी मुद्रामा बचत खाता र मुद्दति खाता खोल्न तथा सञ्चालन गर्न सक्नेछन्। यस प्रकारका खाताहरु अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र जापानिज येनमा न्यूनतम मौज्दात अमेरिकी डलर १ हजार वा सोबराबरको उपर्युक्त परिवत्र्य विदेशी मुद्रा कायम गरी खोल्न सकिनेछ। 

यसरी खोलिएको खातामा नेपाल राष्ट्र बैंकको नीति, नियम तथा निर्देशनको अधीनमा रही विदेशबाटै बैंकिङ प्रणलीबाट मात्र रकम जम्मा गर्नुपर्नेछ। यस्ता खातामा नगद रकम जम्मा गर्न पाइने छैन। जम्मा गरेको रकम तथा आर्जन गरेको ब्याज विदेशमै फिर्ता लानुपरेमा जम्मा गरेकै मुद्रामा जुन देशबाट रकम पठाएको हो, सोही देशमा निक्षेपकर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाइनेछ। तर, यस्ता खातामा रहेको रकम नेपालमै खर्च गर्न तथा रकमान्तर गर्न सकिनेछ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै अध्यक्ष कुँवरले गैरआवासीय नेपालीका तर्फबाट विदेशमा सिकेको सीप, ज्ञान र दक्षतालाई कुनै न कुनै रुपमा नेपाल र नेपालीको हितमा प्रयोग गरीरहेको बताए। 

प्रमुख कार्यकारी अधिकृत शेरचनले गैरआवासीय नेपालीहरु तथा विदेशमा काम गरिरहेका नेपाली नागरिकलाई बैंकबाट उपलब्ध गराउने सम्पूर्ण सेवाहरु उपलब्ध गराउने प्रतिबद्घता ब्यक्त गरे।