काठमाण्डौ । प्रभु बैंक लिमिटेडले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ। 

गत साउन ५ गते बैंक र हेफर इन्टरनेसनल नेपालबीच युवा तथा महिला उद्यमी र साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो। सोही सम्झौताअनुसार नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा बैंकले कृषकहरुलाई सहुलियतपुर्ण कृषि कर्जा उपलब्ध गराएको हो।

नुवाकोटको बट्टारमा एक कार्यक्रमबीच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, हेफर इन्टरनेसनलका सहनिर्देशक प्रकाश कटुवाल, प्रभु बैंकका ग्लोबल मार्केट्स प्रमुख सुजिन शाक्य र माइक्रो फाइनान्स विभाग प्रमुख प्रविनकुमार दाहालले संयुक्त रुपमा पञ्चकन्याका ७ जना कृषि तथा पशु उद्यमशीलतामा काम गरिरहेका उद्यमीहरुलाई प्रभु बैंकको बट्टार शाखा कार्यलयबाट रु. ४० लाखको सहुलियतपुर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरिएको छ। 

कार्यक्रममा अध्यक्ष तामाङले पञ्चकन्या गाउँपालिकाका किसानलाई प्रभु बैंकले ठूलो गुण लगाएकोे र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रहसमेत गरे। 

उक्त सम्झौताअनुरुप हेफर इन्टरनेसनल नेपालका तर्फबाट प्रर्द्धित सहकारीहरुले सहुलियतपुर्ण ऋण लिन इच्छुक उद्यमीको पहिचान गरी कर्जा लिन योग्य उद्यमीलाई बैंकमा सिफारिस गर्नेछन्। त्यसैगरी स्थानीय सरकारले कर्जा सदुपयोगको अनुगमन गरी आवश्यक अन्य व्यावसायिक विकासका सेवाहरु प्रदान गर्न सहयोग तथा सहजीकरण गर्नेछ।

हेफर इन्टरनेसनलले ४४ जिल्लाका करिब ४ लाख पिछडिएका गरिब परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जीविकोपार्जन विकासका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ। संथाले हालसम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरुमार्फत वित्तीय पहुँच पुरÞ्याउन सहजिकरण गर्दै आएको छ।

समाजमा उच्चस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो ६८ जिल्लामा रहेका ३०२ शाखा कार्यालय, ७१ एक्स्टेन्सन काउन्टर तथा ३१० एटीएमसहित फराकिलोे पहुँच रहेको प्रभु बैंकले उक्त सम्झौताअनुरुप करिव १ हजार ५०० उद्यमीहाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ।