काठमाण्डौ। विद्यार्थीलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्नेलगायतका विषयमा सहकार्य गर्न प्रभु क्यापिटल लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच आज एमओयू सम्पन्न भएको छ। 

प्रभु क्यापिटलको सभाहलमा एक कार्यक्रमबीच सम्झौता भएको हो। सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा.डा. रामजी गौतमले हस्ताक्षर गरेका छन्। 

देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्नेलगायतका विषयमा सहकार्य गर्नेगरी आपसी समक्षदारीपत्रमा सम्झौता भएको हो। सम्झौताअनुसार प्रभु क्यापिटलले केन्द्रीय व्यवस्थापन विभागमा एमबीए तहमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्य प्रभु क्यापिटल मेरिट अवार्ड प्रदान गर्ने तथा क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मद्दत पुग्ने गरी केन्द्रीय व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीसँग सहकार्य गर्नेलगायतका विषयमा सम्झौता भएको छ।

आपसी समझादरीपत्रको हस्ताक्षर कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका तर्फबाट एमबीए कार्यक्रम निर्देशक सहप्राध्यापक ज्ञानमणि अधिकारी, एमबीए कार्यक्रम उपनिर्देशक उपप्राध्यापक डा. बलराम दुवाल र प्रशासकीय अधिकृत मुकुन्द रिमाल तथा प्रभु क्यापिटलका तर्फबाट सञ्चालक उपप्राध्यापक डा. भरतसिंह थापा, लगानी शाखा प्रमुख दुर्गानन्द झालगायतको उपस्थिति थियो।