काठमाण्डौ । कैलालीको टिकापुरमा २०७२ भदौ ७ गते एक एसएसपीसहित ८ जनाको हत्या घटनाका प्रमुख दोषी भनिएका र प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका रेशम चौधरीले भारि मतअन्तरले प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन् । 

चौधरीले २१ हजार बढी मतको अन्तरले निकटतम प्रतिस्पर्धीलाई पछि पार्दै जित हासिल गरेका हुन्। 

चौधरीले ३४ हजार ३ सय ४१ म्त पाएर जित हासिल गर्दा उनकी निकटतम प्रतिदन्दी एमालेकी मदनकुमारी शाहले १३ हजार ४ सय ६ मत मात्रै पाइन् । 

चौधरीलाई सुनियोजित ढंगले प्रहरीको फरार सूचिमा रहेका भए पनि निर्वाचन आयोगले उम्मेद्वारी दर्ता गर्न दिएको थियो । 

चुनावी प्रचारको क्रममा समेत उनी आएका थिएनन् । उनकी पत्नी, छोरी र आफन्तले उनको चुनाव प्रचार प्रसार गरिदिएका थिए । 

राजपाबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका चौधरीले फराकिलो मतअन्तरले जित हासिल गरेसँगै उनको पद के हुने भन्ने बिषयमा चासो बढेको छ । 

राजपाले सो घटनालाई राजनीतिक भन्दै त्यसमा संलग्नताका दोषीहरुलाई उन्मुक्ति दिनुपर्ने माग गर्दै आएको छ । राजपासँगको सहमति अनुसार प्रदेश सीमांकनविरुद्ध भएको २०७२ भदौ ७ गतेको आन्दोलनको क्रममा चौधरीको एफएम र रिसोर्टमा भएको तोडफोड र आगजनीको क्षतिपूर्ति समेत सरकारले उपलब्ध गराइसकेको छ ।