काठमाण्डौ । कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको छ । 

दोलखामा केही दिनअघिदेखि नै निरन्तर झडप भइरहेको छ । त्यहाँका विभिन्न निर्वाचन केन्द्रमा कांग्रेस र माओवादीका कार्यकर्ताले बुुथ कब्जा गरेका भन्दै एमाले नेता तथा उम्मेद्वारहरुले मतदान कार्यक्रम नै बहिस्कार गरेर हिँडेका छन् । चुनावअघि नै एक एमाले कार्यकर्ताको माओवादीले हत्या गरेदेखि नै दोलखा तनावपूर्ण हुँदै आएको छ । 

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले बिजशालासँग टेलिफोनमा कुरा गर्दै मेलुंग गाउँपालिका अन्तर्गत छटेश्वरी मावि मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरीले गोली चलाएको थियो । सोही गोली लागेर एकजनाको मृत्युु भएको छ । मृत्यु हुने कुन पक्षका थिए वा को थिए भन्ने पहिचान हुन नसकेको भट्टले जानकारी दिए । 

दोलखाका अन्य विभिन्न मतदान केन्द्रहरुमा समेत तनाव सिर्जना भएको छ । ठाउँ ठाउँमा झडपका घटना समेत भएका बताइएको छ । 

यसैबीच, दोलखाको बैतेश्वर गाउँपालिकाको वडानम्बर २ मा एमाले र कांगे्रेस कार्यकर्ताबीच खुुकुरी हानाहान हुँदा ११ जना घाइते भएका छन् । झडपमा ९ कांग्रेस कार्यकर्ता र २ एमाले कार्यकर्ता घाइते भएका त्यहाँका संचारकर्मी सुुवास योञ्जनले बताएका छन् । गम्भीर घाइते एक जनालाई थप उपचारका लागि चरिकोटस्थित जिल्ला अस्पताल लगिएको छ । 

जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्बर २ मा एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट काँग्रेस कार्यकर्ता अच्युत कार्की गम्भीर घाइते भएका छन्। यस्तै काँग्रेसका कार्यकर्ता आक्रमणबाट सोही ठाउँका दुई जना एमाले कार्यकर्ता घाइते भएका छन्।