काठमाण्डौ । नेपालको अग्रणी अन्तर्राष्ट्रिय विद्यालयहरुमध्ये एक प्रिमियर इन्टरनेसनल आईबी वर्ल्ड स्कुलले नेपाल खेलकुद महासंघसमेत आबद्ध रहेको इन्टरनेसल स्कुल स्पोर्टस् फेडेरेसनसँग नयाँ सहकार्य गरेको छ। 

उक्त कार्यक्रममा नयाँ साझेदारीको औपचारिक घोषणा गरिनुका साथै साझेदारी भएको पूर्ण सदस्यताको प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो। यस संयुक्त सहकार्यले अन्तर्राष्ट्रियस्तरका खेलकुद पाठ्यक्रमहरुलाई नेपाली विद्यालयमा समावेश गरी खेलकुदको परिदृश्यमा सुधार गर्ने लक्ष्य राखिएको छ।

प्रिमियरले स्थापनाकालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा परिवर्तन ल्याएको छ। देशमा आईबी कार्यक्रमहरु सुरु गर्ने प्रिमियर अग्रगामी स्कुल हुनुका साथै अन्तर्राष्ट्रियस्तरको खेलकुद पूर्वाधार र कार्यक्रमहरुको सुरुआत गर्न, देशको समग्र शिक्षा प्रणालीको विकास गर्न र यस २१ औँ शताब्दीमा सक्षम र राम्रा विद्याथीरूलाई प्रोत्साहन प्रदान गर्न सधैँ अग्रणी भूमिका निर्वाह गरेको छ। यस सहकार्यसँगै प्रिमिय स्कुलले अर्को थप नयाँ खुड्किला चढ्न सफल भएको छ।

इन्टरनेसनल ओलम्पिक कमिटीद्वारा मान्यता प्राप्त इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेसन (आईएसएफ) ले सन् १९७२ देखि स्कुल खेलकुदका लागि अन्तर्राष्ट्रिय खेलकुद व्यवस्थापन निकायका रुपमा काम गर्दै आएको छ। यस निकायको प्राथमिक उद्देश्य भनेकै खेलकुदका माध्यमबाट शिक्षा प्रदान गर्नु हो।

प्रिमियर स्कुल नेपालको पहिलो र आईएसएफको एकमात्र पूर्ण सदस्य रहेको छ। जसले नेपाललाई विश्व खेलकुद महासंघको समेत गौरवान्वित सदस्य बनाएको छ। यस नयाँ सहकार्यमार्फत नेपाली स्कुलका विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको खेलकुद क्षेत्रमा परिचय र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ।

स्कुल समर गेम्स (यू १८), वर्ल्ड स्कुल च्याम्पियनसिप, आईएसएफ ई–स्पोर्टजस्ता अन्य धेरै विद्यालयस्तरका खेलकुद कार्यक्रम आयोजना गर्नका लागि आईएसएफ मान्यता प्राप्त संघ हो। यस सहकार्यबाट अब नेपालका विद्यार्थीले हरेक वर्ष यी खेलमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। विद्यार्थीले विश्वका विभिन्न भागबाट ३५०० देखि ५००० विद्यार्थीसँगै २० भन्दा बढी शैक्षिक र गैरशैक्षिक खेलमा भाग लिन सक्नेछन्। 

यस सहकार्यमार्फत प्रिमियर स्कुलका विद्यार्थीका साथै अन्य स्कुलका अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने विद्यालय खेलकुदमा संलग्न हुनका लागि नयाँ ढोका खुलेको छ। नेपालको शिक्षा प्रणालीमा खेलकुद विकासको चरणमा रहेको र प्रिमियर तथा आईएसएफ दुवैले यस इकोसिस्टमलाई अझ सुदृढ पार्नका लागि महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखेका छन्। खेलकुदले नेपालीको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षाका साथै खेलकुदलाई नेतृत्व गर्ने खेलाडीहरुलाई विकास हुने उत्कृष्ट अवसर प्रदान गर्नेछ।