काठमाण्डौ । नेपाल फर्निचर तथा फर्निसिङ महासंघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ।
राजधानीमा शनिबार सम्पन्न महासंघको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सुजिल श्रेष्ठको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमितिका चयन गरेको हो। महासंघको साधारणसभाले श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ।
संघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल, प्रथम उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा युवराज पौडेल, तृतीय उपाध्यक्षमा गोकुल श्रेष्ठ, महासचिवमा ओमबहादुर बस्नेत, कोषाध्यक्षमा बद्रीप्रसाद हुमागाईं र सचिवमा राजकुमार दाहाल र सहकोषाध्यक्षमा अप्सरा थापा निर्विरोध भएका हुन्।
महासंघको साधारण सदस्यमा हरिकुमार शर्मा, अशोककुमार कुवँर, खगेन्द्र खरेल, प्रेमबहादुर थापा, ज्ञानबहादुर नेपाली, लोकनाथ रेग्मी, शिवप्रसाद पाण्डे र अनिश जोशी चयन भएका छन्। एसोसिएटतर्फका सदस्यमा अजयकुमार घिराइया र मनिष अग्रवाल चयन भएका छन् भने आजीवन सदस्यका तर्फबाट ओमप्रकाश लोहिया चयन भएको महासंघले जनाएको छ।
कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले फर्निचर तथा फर्निसिङ व्यवसायीका समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री यादवले केही वर्षभित्र काठ आयात गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न सरकार क्रियाशील रहेको उल्लेख गरे। उनले भने, ‘तीन वर्षमा बन पैदावारमा मुलुकलाई आत्मानिर्भर बनाउने र ५ वर्षपछि निर्यात गर्ने लक्ष्यका साथ काम अगाडि बढेको छ।’
त्यस्तै महासंघका अध्यक्ष रामप्रसाद न्यौपानेले फर्निचर तथा फर्निसिङ् व्यवसायमा प्रयोग हुने मूख्य कच्चा पदार्थ काठ सहज रुपमा उपलब्ध नहुँदा व्यवसाय र उद्योग विस्तारमा बाधा उत्पन्न भएको बताए। उनले यस व्यवसायमा दक्ष कामदारको अभाव, वार्षिक ७ अर्ब बढी रुपैयाँको काठ आयात गर्नुपर्ने बाध्यता, सरकारी कार्यालयहरुमा आयातित सामाग्रीहरुलाई प्राथामिकता दिइने र सरकारी कार्यालयहरुले आह्वान गर्ने ठुला टेण्डरहरुमा यहाँका व्यवसायीहरुले प्रतिस्पर्धा गर्न नसक्ने प्राबधान राखेर टेण्डर आह्वान गर्ने लगायतका समस्या रहेको बताए।
साथै उनले उद्योगी व्यवसायिहरुलाई प्रत्क्षय रुपमा प्रभाव पार्ने गरी नेपाल राष्ट्र बैंकले जारी गरेको एलसी मार्जिनसम्बन्धी व्यवस्थामा काठका कच्चा पदार्थ एवं तयारी फर्निचर आयात सम्बन्धमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरे।
देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन्। यो व्यवसायले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ। फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ। जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19