काठमाण्डौ । आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्सपो-२०२२ मा प्रदर्शकहरुको उल्लेख्य सहभागिता हुने भएको छ। 

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्सपोमा नेपालसहित भारत तथा बंगलादेशका प्रदर्शकको उत्साहजनक सहभागिता हुने जानकारी दिएको हो। 

एक्सपोको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्सपोको आन्तरिक तयारी पूरा गरी भौतिक तयारी सुरु गर्न लागिएको जनाएको हो। संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदान प्रदान गर्न एक्सपोले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘किचेन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहने छ’, अध्यक्ष जोशीले भने। 

भदौ २३ गतेदेखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डमा आयोजना हुने एक्सपोमा १०० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन्। संघका महासचिव अर्जुन घिमिरेका अनुसार ५ दिन चल्ने एक्सपोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा छ। एक्सपो अवलोकनकर्ताका लागि प्रवेश निशुल्क गरिएको उनले बताए। 

यसका लागि अवलोकनकर्ताले आफ्नो विवरण रजिस्ट्रेसन डेक्समा उपलब्ध गराउनु पर्नेछ। साथै एक्सपोको डिजिटल पेमेन्ट पार्टनर डिजी पेमार्फत पनि निःशुल्क प्रवेश पास पाउन सकिनेछ। प्रत्येक दिन डोर प्राइजका साथै दसैँ विशेष छुटको व्यवस्था गरिएको पनि उनले जानकारी दिए। 

प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्सपोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाइटेड फोम एन्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन्। प्रेस्टिज कार्पेटका सञ्चालक अनिल महेश्वरीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ एक्सपो आयोजना गरिएकाले स्वदेशी ब्रान्ड प्रेस्टिज कार्पेटले मेलामा शीर्ष प्रायोजन गरेको बताए।

बदलिँदो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्सपो उचित गन्तव्य हुने आयोजकको विश्वास छ। यस्तो मागको करिब ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल नेपाली फर्निचर तथा फर्निसिङ उद्योग आफ्नो बजार विस्तार गर्न राम्रो वातावरणको पर्खाइमा रहेको भन्दै संघले एक्सपोले स्वदेशी उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएको छ। ‘नेपाली उत्पादनको प्रवद्र्धन गर्ने, प्रचारप्रसार गर्ने र विदेशबाट आयात हुने वस्तुहरुलाई विस्थापन गर्ने उद्देश्यका साथ आयोजना गरिएको एक्सपोले नीति निर्मातालाई घच्घच्याउने अपेक्षा गरेका छौँ’, एक्सपोका संयोजक ओम बस्नेतले भने।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर र फर्निसिङका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्सपो उचित गन्तव्य हुने अपेक्षा गरिएको छ।  

प्रदर्शनीमा फर्निचर फर्निसिङका नविनतम सामाग्रीको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने लक्ष्य आयोजकको छ। यसका अलावा फर्निचर फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्सपोले टेवा पुर्याउने आयोजकको विश्वास छ। 

एक्सपोलाई डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे र स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एसोसियसन नेपालको सहयोग रहेको छ। इभेन्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्सपोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको समर्थन छ। 

संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा बर्सेनि फर्निचर तथा फनिसिङ सामग्रीको बृहत् मेला ‘फर्नेक्स नेपाल’को आयोजना गर्दै आएको छ।