काठमाण्डौ । आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्सपो २०२२ को सबै तयारी पूरा भएको छ। 

काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने एक्सपोको सबै तयारी पूरा भएको एक्सपो व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले जनाएको छ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना ५ दिनसम्म चल्ने एक्सपोको भौतिक तयारीसमेत पूरा गरिएको हो। भदौ २३ गते बिहीबार दिउँसो १ बजे भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक्सपोको औपचारिक उद्घाटन हुनेछ। बागमती प्रदेशका उद्याग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले एक्सपोको उद्घाटन गर्नेछन्। 

बिहान १० बजेदेखि नै अवलोकनकर्ताका लागि एक्सपोस्थल भने खुला गरिने इभेन्ट सोलुसनले जनाएको छ। 

एक्सपोका संयोजक ओम बस्नेतका अनुसार सबै प्रदर्शकहरुले चाडपर्वलाई लक्षित गरी अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरु सञ्चालन गर्नेछन्। विभिन्न ब्रान्डका प्रदर्शकहरुले वस्तु तथा सेवा हेरी विभिन्न किसिमका अफरमा अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लाइन्सेज लगायतका सेवा तथा उत्पादन उपलब्ध गराउने छन्। यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको बस्नेतले जानकारी दिए। 

१०० भन्दा बढी प्रदर्शनी कक्ष रहने एक्सपो अवलोकनका लागि कुनै शुल्क नलाग्ने इभेयट सोलुसनले जनाएको छ। तर, अवलोकनकर्ताले आफ्नो विवरण रजिस्ट्रेसन डेक्समा उपलब्ध गराउनुपर्नेछ। यसका साथै एक्सपोको डिजिटल पेमेन्ट पार्टनर डिजी पेमार्फत पनि निःशुल्क प्रवेश पास पाउन सकिनेछ। 

प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्सपोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाईटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन्। एक्सपोको डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे छ भने स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एसोसियसन नेपालको सहयोग छ। एक्सपोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको समर्थन छ। 

बदलिँदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्सपो उचित गन्तव्य हुने आयोजकको विश्वास छ। किचेन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, कार्पेट,  पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षणका रुपमा रहनेछन्। 

पाँच दिन चल्ने एक्सपोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ। संघले सन् २०१२ देखि भृकुटीमण्डपमा बर्सेनि फर्निचर तथा फनिसिङ सामग्रीको बृहत् मेला ‘फर्नेक्स नेपाल’ को आयोजना गर्दै आएको छ।