काठमाण्डौ । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) र बैंकिङ फाइनास एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)बीच बीमा क्षेत्रको क्षमता विकासका लागि तालिम, सेमिनार, सम्मेलन, अनुसन्धान तथा परामर्शका क्षेत्रमा दीर्घकालीन रणनीतिक विकास गर्नका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ। 

सम्झौतापत्रमा एफआरबीएलका तर्फबाट कम्पनी सचिव अल्पना शर्मा र रिर्सच एनालिस्ट सौरभ बराल तथा बिफिनका तर्फबाट प्रबन्धक निसु भगत र प्रशासन तथा वित्त अधिकृत मतिराम पौडेलले हस्ताक्षर गरेका छन्। 

सम्झौताअन्तर्गत बीमा व्यवसायसँग सम्बन्धित आवश्यक क्षमता विकासको विभिन्न कार्यहरु गर्नका लागि दुवै संस्था मिलेर काम गर्न सहमत भएका छन्। दुवै संस्थाले संयुक्त सभा, सम्मेलन, सेमिनार तथा प्रशिक्षण कार्यक्रम निरन्तर रुपमा आयोजना गर्नेछन्। 

यस सम्झौतापश्चात संयुक्त अध्ययन र अनुसन्धान र परामर्श सेवाहरु सञ्चालन गर्न सहयोग गर्नेछन् र विभिन्न प्रदर्शनी, व्यापार मेला, गोष्ठी, सम्मेलन वा बीमासम्बन्धी कार्यक्रम संयुक्त रुपमा आयोजन गर्न दुवै संस्थाहरु सहमत भएका छन्।  

एफआरबीएल २०२२ मा पब्लिक लिमिटेडका रुपमा स्थापित  भई नेपालमा पुनर्बीमा दलालीसम्बन्धी सेवा तथा प्ररामर्श प्रदान गर्न नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र लिई कार्य प्रारम्भ गरिसकेको छ। अर्कोतर्फ बिफिन बैंकिङ, बीमा तथा पुँजीबजार क्षेत्रमा कर्मचारीहरुको ज्ञान, शीप तथा क्षमता अभिवृद्धि गर्न तालिम, कार्यशाला र सेमिनारहरु प्रदान गर्न २०१८ मा पब्लिक लिमिटेड कम्पनीका रुपमा स्थापित भई वित्तीय क्षेत्रलाई बलियो बनाउन अनुसन्धान र परामर्श पनि सञ्चालन गरी नेपालमा वित्तीय प्रणालीलाई बलियो बनाउन मदत गरिरहेको छ।