काठमाण्डौ । नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन्। थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो। 

वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्षभन्दा बढी सेवा अनुभव सम्हालेका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ‘हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’का रुपमा काम गरिसकेका छन्। राष्ट्रिय भुक्तानी स्विच परियोजनाहरु कार्यान्वयन गर्नसमेत थापा प्रमुख भूमिकामा रहेका थिए। 

व्यवसाय प्रक्रिया पुनः इन्जिनियरिङ, प्रविधि डिजाइन, समाधान विकास, सरोकारवाला सचेतना र म्यानुअल भुक्तानी प्रक्रियाको डिजिटलाइजेसनको कार्यान्वयनमा सक्रिय रुपमा थापा संलग्न हुँदै आएका छन्। कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गरेका थापासँग क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत वैकल्पिक वित्तका लागि क्याम्ब्रिज केन्द्रबाट ‘क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’ कार्यक्रम पूरा गरेको अनुभव पनि छ। 

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ। यसका साथै फोनेमार्फत अन्तरबैंक फन्ड ट्रान्सफर, हब पेमेन्टलगायतका कारोबार गर्न सकिन्छ। 

फोनपे पेमेन्ट सर्भिस नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन्। 

यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। १ करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।