काठमाण्डौ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले दोस्रो पटक सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनाअन्तर्गत बम्पर उपहारमा मोरङका कमल चुडालले हुन्डाईको स्यान्ट्रो (एरा एक्जुकेटिभ) गाडी जितेका छन्।

चुडालले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहारस्वरुप स्यान्ट्रो जित्न सफल भएका हुन्। उनलाई फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र बैंकका नायम महाप्रबन्धक अपछ कुमार यादवले गाडीको साँचो हस्तान्तरण गरे। फोनपेले अघिल्लो वर्ष पनि यस्तै  योजना सञ्चालन गरेको थियो। जसमा झापाका उज्जल अधिकारीले हुन्डाईको ग्रान्ड आइटेन गाडी जित्न सफल भएका थिए। 

यो वर्ष फोनपेले असोज ३१ देखि पुस १६ सम्म योजना सञ्चालन गरेको थियो। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएका छन्। 

यस योजनामा हरेक दिन एकजनाले आइफोन जित्न सकिन्थो। फोनपेमार्फत रु. १० मा कुनै पनि व्यक्तिको मोबाइल नम्बर उल्लेख गरी रकम पठाउन सकिन्छ। फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एपमा गई सेन्ड मनी गरी फोनपे डाइरेक्टमार्फत सहजै रकम पठाउन सकिन्छ। 

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। 

यस्तै फोनपेमा हालसम्म ६ लाख १५ हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। एक करोड ४० लाख भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।