काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिवस सापकोटा नियुक्त भएका छन्।

फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागू हुने गरी सापकोटालाई सीईओमा नियुक्त गरेको हो। सापकोटा फोनपेमै एसिस्टेन्ट सीईओका रुपमा कार्यरत थिए। 

सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम सुरु गरेका थिए। उनी यसअघि नेपाल क्लियरिङ हाउसमा आबद्ध थिए। 

एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आईटी क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव छ। आईटीदेखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पुर्याउने विश्वास लिइएको छ। 

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ। यसका साथै फोनेमार्फत अन्तरबैंक फन्ड ट्रान्सफर, हब पेमेन्टलगायतका कारोबार गर्न सकिन्छ। 

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन्। 

यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। १ करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।