काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ। 

नेपाललाई क्यासलेस बनाउने योजनाअनुसार ‘नगद छोडौँ, फोनपे गरौँ’ भन्ने नारासहित ३ वर्षअगाडि स्थापना भएको फोनपेमा छोटो समयमै आमव्यवसायीको आकर्षण बढेको हो। फोनपे नेटवर्कमार्फत हाल दैनिक ४ अर्ब रुपैयाँ बढीको कारोबार हुँदै आएको छ। 

वित्तीय क्षेत्रमा फोनपेले बनाएको यो नयाँ रेकर्डसँगै डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तनसमेत आएको छ। 

फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन्। गाउँ–गाउँसम्म विस्तार भइसकेको फोनपे क्यूआर सहरका अधिकांश पसलमा देखिन थालेका छन्। 

ग्राहकले पनि नगद बोकेर हिड्नुको साटो फोनपे मार्फत भुक्तानी गर्न सहज ठानेका छन्। डिजिटल कारोबारमा आएको यो परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल इकोनोमीमा ठूलो परिवर्तन ल्याउँदै जान थालेकोे छ। 

मर्चेन्टको संख्या १० लाख पुगेको उपलक्ष्यमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले भने, ‘हामीले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन नगदरहित समाजको जुन परिकल्पनाका साथ यसको सुरुआत गरेका थियौँ, छाटो समयमै मर्चेन्टको संख्या १० लाख पुग्दा हामी थप उत्साहित भएका छौँ। यसले नगदको प्रयोगमा कमी ल्याउँदै डिजिटल इकोनोमीको बाटोमा अझ रफ्तारमा लगेको छ। यस समर्थनका लागि म सबै मर्चेन्ट, ग्राहक तथा बैंक तथा वित्तीय संस्थालाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा हामी डिजिटल कारोबारलाई बढवा दिन मर्चेन्ट र ग्राहकलाई थप परिष्कृत सेवा दिँदै जानेछौँ।’

क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकको संख्यामा वृद्धि भएसँगै पछिल्लो समय मर्चेन्टहरुसमेत उत्साहित देखिन थालेका छन्। काठमाण्डौ नरेफाँटका किराना व्यवसायी समप्रसाद आपागाइँ भन्छन्, ‘सुरु–सुरुमा त मलाई त्यति पत्यार लागेको थिएन, कसले पो तिर्ला भनेर ? बैंकले नै भनेपछि मर्चेन्ट बने, हिजोआज मेरो पसलमा आउने धेरैले क्यूआरमार्फत भुक्तानी गर्नुहुन्छ। यसरी कारोबार भएकोमा म दंग छु, खुद्रा पैसाको झन्जट नहुने र बैंकमा पनि जान नपर्ने रहेछ, अहिले त मलाई धेरै सहज बनाएको छ, यसले।’

यता आमप्रयोगकर्तालाई पनि यसले सहज बनाएको ग्राहकको अनुभव छ। भक्तपुरकी गृहिणी जमुना भट्टराईको अनुभव छ, ‘श्रीमान्ले हरेक महिना घर खर्चका लागि बैंकमा पैसा राखिदिनुहुन्छ, मलाई तरकारीदेखि फलफूल, मासु सबै किन्न पैसा बोक्न पनि परेन, खुद्रा भएन भन्न पनि परेन यसले निकै सजिलो बनाएको छ।’

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो। फोनपेमा अहिले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध छन्। १ करोड ७० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ। 

फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएस भीथ्रीटुवान प्रमाणीकरण प्राप्त संस्था पनि हो।