काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा ‘एनआईपीएल’द्वारा नेपाल र भारतबीच पहिलो क्रसबोर्डर क्यूआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ। 

यो ऐतिहासिक साझेदारीको सुरुआत ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो। जहाँ हरेक वर्ष फिन्टेक दूरदर्शीहरु र नवप्रवर्तकहरुको विश्वव्यापी भेटघाट हुने गर्छ।

फोनपे र एनआईपीएलबीचको यस सहकार्यले दुवै राष्ट्रका लाखौँ नागरिकलाई यी दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरमा क्यूआर कोडमार्फत सुरक्षित र सहज रुपमा भुक्तानी गर्न मद्दत गर्नेछ। उक्त सेवाका लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ। 

प्राविधिक एकीकरणको समाप्तिपश्चात यी दुई कम्पनी आफ्ना नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुनेछन्। जसअनुरुप लाखौँ उपभोक्ता र व्यापारीले यस सेवाको लाभ लिन सक्नेछन्। 

दुई कम्पनीबीचको यस रणनीतिक साझेदारीले दुवै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाका रुपमा साबित हुनेछ।

फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, ‘यो उल्लेखनीय प्रक्षेपण, दुवै देशका नागरिकको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो। म विश्वस्त छु कि यस पहलले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान  पुर्याउनेछ र अन्ततः समृद्धि र विकासलाई बढावा दिनेछ।’

सोही अवसरमा एनपीसीआई इन्टरनेसनल पेमेन्ट्सले यस पहलले नवप्रवर्तनप्रति रहेको आफूहरुको प्रतिबद्धतालाई जनाउने जनाएको छ। ‘यूपीआई एपले सहज क्रसबोर्डर भुक्तानीलाई सक्षम पार्नेछ र मानिसको कारोबार गर्ने तरिकालाई वृद्धि गर्नेछ’, कम्पनीले भनेको छ, ‘फोनपेसँगको यस साझेदारीलाई हामीले वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेका छौँ र फोनपेसँगसँगै रुपान्तरणको यो यात्रा सुरु गर्न पाउँदा हामी धेरै उत्साहित छौँ।’