काठमाण्डौ। सनराइज बैंक लिमिटेडले बिहीबारबाट बझाङ जिल्लाका जयपृथ्वी नगरपालिका–३  राजकोटमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ।

उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५४ पुगेको छ। बैंकले राजकोटमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा विष्णुबहादुर खड्कालार्ई नियुक्त गरेको छ। 

सेवा सुरुआत कार्यक्रममा प्रमुख अतिथिमा पाण्डु माध्यमिक विद्यालय पडेश, राजकोटका प्रधानाध्यापक रामबहादुर ऐडीको उपस्थिति रहेको थियो। कार्यक्रममा चैनपुर शाखाका अपरेशन इन्चार्ज नवराज रोकाया र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो। 

बैंकिङ सेवाका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ। यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सकिने जनाएको छ। 

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहँुच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको  बैंकले जनाएको छ।

हालसम्म बैंकले १३९ वटा शाखा, ५४ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटिएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि बैकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ।