काठमाण्डौ । बाम गठबन्धनले बझाङमा प्रतिनिधि र प्रदेश सभाका सबै क्षेत्रमा क्लीन स्वीप गरी शानदार जित हासिल गरेको छ । 

भर्खरै सार्वजनिक गरिएको मतपरिणाम अनुसार गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भैरव सिंहले कांग्रेसका पृथ्वीबहादुर सिंहलाई झण्डै ८ हजार मतअन्तरले पराजित गरेका छन् । सिंहले ३४६१२ मत ल्याए भने कांग्रेसका पृथ्वीबहादुरले २६९१० मतमा सीमित बन्नुुपर्यो ।

यसैगरी, यो जिल्लाको प्रदेश सभा ‘क’बाट वामगठबन्धनका उम्मेद्वार अर्जुन थापाले १६ हजार ८ सय ६८ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रदेवी जोशीले १३ हजार १ सय ९७ मत ल्याए । 

प्रदेश सभा ‘ख’बाट पनि वामगठबन्धनकै उम्मेद्वार देवकी मल्ले १६ हजार ७ सय ४३ मतसहित जित हासिल गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेद्वार नरेशबहादुर सिंह १४ हजार २ सय ४२ मतमा सीमित बन्न पुुगे ।