काठमाण्डौ। कोभिड १९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्दहड्तालजस्ता गतिविधिले थप जोखिममा पार्ने निजी क्षेत्रले निष्कर्ष निकालेको छ। चालु आर्थिक बर्षको दोस्रो त्रैमासबाट विस्तारै लयमा फर्किन थालेको अर्थतन्त्रलाई पछिल्लो समय बिकसित राजनीतिक घटनाक्रमले गम्भीर नकारात्मक असर पार्ने निश्चित रहेको उनीहरुको ठहर छ। 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा विश्वव्यापी महाव्याधिले आक्रान्त सर्वसाधारण र उद्यमी व्यवसायीलाई वन्द हडताल, चक्काजाम एवं आवागमनमा अवरोध हुने किसिमका भेला सम्मेलन लगायतका गतिविधिले पेशा व्यवसायमा अवरोध भई आयआर्जनमा प्रत्यक्ष प्रभाव परेर थप पीडा दिने उल्लेख छ। यस्तो बिषम परिस्थितिमा समस्याको शान्तिपूर्ण समाधान निकाल्ने विकल्प पन्छाई सर्वसाधारण र निजी क्षेत्रको काम गर्न पाउने लगायतका नैसर्गिक अधिकार कुण्ठित पार्न नहुने निजी क्षेत्रको ठहर विज्ञप्तिमा जनाइएको। 

विज्ञप्तिमा बन्दहडतालका कारण साना उद्यमी व्यवसायी र दैनिक ज्यालामा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर पर्नेतर्पm राजनीतिक दलहरूको ध्यानाकर्षण गराइएको छ। ‘साथै, नयाँ संविधान निर्माणपश्चात आर्थिक विकासलाई प्राथमिकतामा राखी बन्दहड्ताल, चक्काजामलगायतका गतिविधि नगर्ने सबै राजनीतिक दलहरूले गरेको प्रतिबद्धतालाई पनि हामी यहाँ स्मरण गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ। 

अहिलेको कठिन परिस्थिति, विगतका हाम्रा तीता अनुभवसमेतलाई गम्भीर रूपमा मनन गरी बन्दहड्ताललगायतका कार्यक्रमको घोषणा गरिएको हो भने तत्काल फिर्ता लिई मुलुकलाई थप संकटमा नधकेल्न विज्ञप्तिमा अपिल गरिएको छ।