काठमाण्डौ । नेपालको एकमात्र अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकम नवौँ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश गरेको छ। 

बससेवा टुर्स एन्ड ट्राभल्सअन्तर्गत रहेर वि.सं. २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरु गरेको बससेवा दसौँ वर्षमा प्रवेश गरेको हो। यो अवधिमा बससेवा डटकम नेपालभरका अधिकांश रुटमा सेवा प्रदान गर्न सक्षम भएको छ। यसका साथै भारतका नयाँदिल्ली, बोधगया, मुजफ्फरपुरलगायतका सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ।

हाल दैनिक ३ हजारभन्दा बढी यात्रुले बससेवामार्फत टिकट काटी यात्रा गर्दै आएका छन्। योबीचमा बससेवाले यात्रुलाई बस कुर्न झन्झट नहोस् भन्ने उद्देश्यले काठमाण्डौको ढुंगेअड्डामा प्यासेन्जर लाउन्जसमेत सञ्चालनमा ल्याएको छ। सोही लाउन्जमा यात्रुलाई वाईफाई, खानेपानीलगायतका सुविधा रहेका छन् भने लाउन्जबाट सीधै बस चढ्न सकिन्छ। जसले गर्दा यात्रुलाई सडककिनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

स्थापना भएको अर्को वर्ष अर्थात् २०७२ सालमा विनाशकारी भूकम्प, नाकाबन्दीजस्ता कुराको मार खेपेको बससेवाले योबीचमा कोभिड महामारीका कारण भएको लकडाउनमा पनि लामो समय समस्या झेल्नुपर्यो। अनौपचारिक क्षेत्र मानिएको र प्रविधिको प्रयोग शून्य रहेको यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन बससेवाले लामै कसरत गर्नुपरे पनि हाल बससेवाप्रति आमयातायात व्यवसायी र यात्री आकर्षित हुँदै गएका छन्। 

दसौँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भने, ‘बससेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुलाई अनलाइनमार्फत टिकट प्रदान गर्ने उद्देश्यले आफ्नो सेवा सुरु गरेको हो। हामीले योबीचमा विभिन्न उतारचढाव व्यहोर्नुपरे पनि आमयात्रु र यातायात व्यवसायीले देखाउनुभएको विश्वासप्रति म धन्यवाद दिन चाहन्छु। आगामी दिनमा हामीले हाम्रो सेवालाई थप प्रभावकारी बनाउँदै आम यात्रुलाई सहज हुने गरी सेवा विस्तार गर्दै जानेछौँ।’

यसैबीच बससेवाले दसौँ वर्ष प्रवेशका अवसरमा १० दिनसम्म हरेक दिन १० जनाले निःशुल्क यात्रा गर्न सक्ने अफर सार्बजनिक गरेको छ। हरेक दिन गोलाप्रथामार्फत १० जनालाई सतप्रतिशत क्यासब्याक प्रदान गरिनेछ। विजेताको नाम बससेवाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ। 

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बसटिकट काट्न सकिने सेवा प्रदायक हो। यात्रुले कुनै पनि गन्तव्यका टिकट सहजै बससेवा डटकम र बससेवाको मोबाइल एपमार्फत टिकट काट्न सक्नेछन्।