काठमाण्डौ । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेका नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईको जित निश्चित भएको छ।

सो क्षेत्रमा ७ हजार ५ सयको हाराहारीमा मत गन्न बाँकी छँदा उनले निकटतम प्रतिदन्दी नारायणकाजी श्रेष्ठलाई ४९०० को मत अन्तरले पछाडि पारेका छन् । मत गन्न बाँकी रहेका क्षेत्रमा भट्टराईको पकड राम्रो रहेको र नारायणकाजीले ४९०० मत बाबुरामलाई तिरेर जित्ने अवस्था नरहेको स्थानीय संचारकर्मीहरुले बताएका छन् । 

पछिल्लो मत अपडेट अनुसार डा. भट्टराईले २७ हजार २ सय २३ मत ल्याएका छन् भने नारायणकाजीले २२ हजार ३ सय २३ मत ल्याएका छन् । 

यो पटकको प्रतिनिधिसभा निर्वाचनमा देशभरका केही बहुचर्चित क्षेत्रमध्ये यो समेत एउटा थियो । माओवादीका शीर्ष नेताहरुमध्येका एक नारायणकाजीले देशभर बामगठबन्धनको लहर आउँदा समेत भट्टराईसँग हार व्यहोर्ने अनौठो घटना गोरखामा हुने देखिएको छ । बाम गठबन्धनको शीर्ष तहमा रहेका कुनै पनि नेताहरुले अहिलेसम्म हारेका छैनन् र अधिकांशले राम्रै मतको अग्रता लिइरहेका देखिएको छ । 

यो क्षेत्रमा बाबुरामलाई कांग्रेसले समर्थन गरेको थियो । नारायणकाजीलाई एमाले लगायतका बाम घटकहरुले ।