काठमाण्डौ । नेकपा उपाध्यक्ष बामदेव गौतमले बोली फेरेसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले निरन्तरता पाउने संभावना बलियो भएको छ ।
गौतमले प्रधानमन्त्री बन्न नसक्ने अवस्था देखिएसँगै आफू राष्ट्रियसभा सदस्यको रुपमा नजाने बताएका छन् । योसँगै राष्ट्रियसभामा रिक्त एक पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः अर्थमन्त्री डा. युवराज खतिवडालाई नै सिफारिस गर्ने संभावना बढेको हो ।
सत्तारुढ दल नेकपाका उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार प्रधानमन्त्री बन्न नसक्ने अवस्था बनेपछि गौतम राष्ट्रियसभा सदस्यमा अब जाँदैनन् । 'उहाँ राष्ट्रियसभा सदस्यमा जानुपर्ने औचित्य नै रहेन अब ।' उनले भने-'त्यहाँबाट प्रधानमन्त्री बन्ने अवस्था भएन । त्यसकारण उहाँले अब आफू नजाने प्रष्ट पार्नुभएको हो।'
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्राइम टेलिभिजनलाई एक अन्तर्वार्ता दिने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडालाई फेरि पनि अवसर दिने प्रष्ट संकेत गरिसकेका छन् । उनले अर्थमन्त्री खतिवडाले राम्रो काम गरेका भन्दै उनलाई निरन्तरता दिने विषयका लागि भदौ २० गतेसम्म कुर्न भनेका छन् ।
सत्तारुढ दल नेकपाको सचिवालय बैठक भदौ १८ गते बस्दैछ । सोही बैठकले राष्ट्रियसभामा खतिवडालाई पठाउने या नपठाउने भन्ने निर्णय गर्नेछ ।
खतिवडालाई प्रधानमन्त्रीको आशिर्वाद रहेकोले अन्य कुनै नेताको नाम अगाडि आएन भने राष्ट्रियसभा सदस्यको रुपमा उनी नै सिफारिसमा पर्ने संभावना बढेको हो ।
ओली निकटकै कतिपय नेताहरुले भने बामदेव गौतम राष्ट्रियसभामा नजाने अवस्थामा पुराना नेता गुरु बराललाई त्यहाँ पठाइनुपर्ने आवाज समेत उठाइरहेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्व सांसद समेत रहेका बराल राष्ट्रपति विद्यादेवी भण्डारीका समेत विश्वास पात्र हुन् । तर, ओलीको मन भने बरालभन्दा खतिवडालाई नै लैजाने देखिन्छ । यसो भयो भने खतिवडा अर्थमन्त्रीकै रुपमा निरन्तर हुनेछन् ।
त्यसो त भदौ १८ गतेको सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठन तथा नयाँ मन्त्रीहरुको नियुक्तिको मापदण्ड समेत तय गर्ने बताइएको छ । यदि २ वर्ष कार्यकाल पूरा भएका सबै मन्त्रीलाई विदा दिने मापदण्ड बन्यो भने चाहिँ डा. खतिवडाले समेत अर्थमन्त्रीबाट हट्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा ओलीले उनलाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार बनाउन सक्नेछन् ।
अर्थमन्त्री खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल फागुन २० गते नै सकिएको थियो । संविधानमा संसद सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था अन्तर्गत उनलाई ओलीले पुनः नियुक्त गरी मन्त्रीमा निरन्तरता दिएका थिए । भदौ २० गते अर्थमन्त्री डा. खतिवडाको सांसदबेगर मन्त्री बनेको अवधि सकिँदैछ । उनलाई निरन्तरता दिनका लागि भदौ २० गतेभित्र नै सांसद बनाइसक्नुपर्छ,अर्को कुनै बाटो छैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago