काठमाण्डौ । मतगणना भइरहेको अधिकांश क्षेत्रमा बाम गठबन्धनका उम्मेद्वार अगाडि रहेका देखिएको छ । प्रारम्भिक मतपरिणामले यो पटकको निर्वाचनमा बाम गठबन्धनको स्पष्ट बहुमत आउने संकेत गरेको छ । 

भोजपुरको प्रतिनिधिसभाको ताजा अपडेट पनि प्राप्त भएको छ । यहाँ कांग्रेसका उमेशजंग रायमाझीले झिनो अग्रता लिएका छन् । उनले ५९७ मत ल्याउँदा उनलाई माओवादी केन्द्रका सुदन किराँतीले ५१३ मतले पछ्याइरहेका छन् ।

एमाले नेता तथा पूर्व संचारमन्त्री शेरधन राईले भोजपुरको प्रदेशसभा ख मा फराकिलो अग्रता लिएका छन् । उनले ४६७ मत ल्याउँदा उनलाई नेपाली कांग्रेसका गोविन्द कार्कीले २७१ मतले पछ्याइरहेका छन् । 

भोजपुर प्रदेश सभा १ मा समेत एमालेले अग्रता लिएको छ । एमालेका उम्मेद्वार राजेन्द्र राई ३७२ मतसहित अगाडि बढेका छन् । उनलाई संघीय समाजवादी फोरमका अजम्बर काङमाङले ३४९ मतले पछ्याइरहेका छन् ।

जुम्लाको प्रदेश सभा ‘ख’ मा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रदेश (ख) मा वाम गठबन्धनका पदमबहादुर रोकायाले ३ सय ५३, कांग्रेसका भीमनिधि हमाल ४८ र नेपाल मजदुर किसान पार्टीका गोर्खा बुढाको १ सय ३५ मत आएको छ ।

एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मुगुमा एमालेले अग्रता लिएको छ। प्राप्त पछिल्लो मतगणना अनुसार एमालेका उम्मेदवार गोपालबहादुर बमले ६ सय ८२ मत ल्याएका छन्। कांग्रेसका हस्तबहादुर मल्लले ३ सय ७३ मत ल्याएका छन्।

जुम्लाको निर्वाचन क्षेत्र नं. २ को ५६९ मत गणना हुँदा एमालेका पदम रोकाया ३५३ मतसहित अगाडि छन् । उनलाई नेमकिपाका गोर्ख बुढाले १३५ मतले पछ्याइरहेका छन् । तेश्रो स्थानमा रहेको कांग्रेसले ४८ मत मात्र ल्याएको छ । 

पशुपति समशेर अगाडि
चर्चाको शिखरमा रहेकोमध्ये सिन्धुुपाल्चोकको प्रतिनिधिसभा क्षेत्रनम्बर २ को ताजा मतपरिणाम समेत सार्वजनिक भएको छ । 

यो क्षेत्रमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर राणाले सुरुवाती अग्रता लिएका छन् । 
उनले हार्ने सर्वत्र चर्चा भइरहेको बेला सुरुवाती परिणाममा भने फराकिलो अन्तरले अग्रता लिएका हुन् । उनले ५१३ मत ल्याएका छन् भने उनलाई एमालेका शेरबहादुर तामाङले २३९ मतले पछ्याइरहेका छन् ।