काठमाण्डौ । बिहीबार राति १० बजेसम्म विभिन्न क्षेत्रबाट प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका धेरै स्थानमा एमालेले अग्रता लिएको छ । एमालेसहित बाम गठबन्धनको सुरुवाती अग्रता कायमै रहने हो भने उनीहरुले दाबी गरेजस्तो दुुईतिहाई बहुमत सहजै पुुग्ने देखिन्छ । तर, पहिलो चरणको मतदानको प्रारम्भिक मतपरिणामकै आधारमा दुुईतिहाई बहुमत आइहाल्छ भनियो भने हतारो हुनेछ । 

पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमध्ये ३३ को मतगणना जारी छ । यी ३३ क्षेत्रमध्ये हालसम्म १६ स्थानमा एमालेले अग्रता लिएको छ । माओवादीले १० स्थानमा अग्रता कायम गरेको छ । कांग्रेसको अग्रता ५ स्थानमा सीमित छ । राप्रपा प्रजातान्त्रिकले एक ठाउँ र नयाँ शक्ति पार्टीले १ ठाउँमा अग्रता लिएका छन् । 

उता, प्रदेशसभाका ४२ स्थानको प्रारम्भिक मतपरिणाम अनुसार २० स्थानमा एमालेले अग्रता लिइरहेको छ । माओवादीले १३ स्थानमा अग्रता हासिल गरेको छ । प्रदेशसभातर्फ कांग्रेसको अग्रता ९ स्थानमा सीमित छ । 

यसरी हेर्दा प्रतिनिधिसभाका ३३ क्षेत्रमध्ये बाम गठबन्धनको मात्रै २६ स्थानमा अग्रता छ । यस्तै, प्रदेशसभाको ४२ स्थानमध्ये ३३ स्थानमा बाम गठबन्धनकै अग्रता छ ।