काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले ग्राहकको मागअनुरुप नयाँ सुविधाहरु थप गरेको छ।

नयाँ सुविधाअन्तर्गत ग्राहकले अब सजिलै सेलपे मोबाइल वा वेब एप्लिकेसन प्रयोग गरी सहज रुपमा सेलपेसँग आबद्ध भएका विभिन्न बिमा कम्पनीको बिमा रकम भुक्तानी र स्याकार इन्भेस्ट्मेन्ट कम्पनीका ईएमआई भुक्तानी गर्नुका साथै ग्राहकले आफूले पठाएको रकम प्रापकले सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको नेपालभरीका आफलाई पायक पर्ने जुनसुकै रेमिटेन्स एजेन्ट कहाँबाट प्राप्त गर्ने सक्नेछन्। 

हाल विश्वभरि फैलिँदै गरेको कोरोनाभाइरस (कोविड १९) को संक्रमणबाट बच्नका लागि नेपाल सरकारबाट आमसर्वसाधारणलाई सामाजिक दूरी कायम गर्न र अत्यावश्यक कार्यका लागिबाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा सेलपेले यस अवस्थामा यी थप सेवा र सुविधाले ग्राहकलाई सामाजिक दूरी कायम गर्नका साथै आफ्नो आवश्यक रकम भुक्तानीका कामहरु गर्न पनि सहजता पुर्याउने जनाएको छ। 

सेलपेका ग्राहकले यस थप सेवाहरुको फाइदा लिनका लागि आफ्नो सेलपे एपमा गई हालै नयाँ थपिएका आइकन ईएमआई र इन्सुरेन्समा क्लिक गरी आफ्नो आवश्यकतानुसारको सेलपेसँग आबद्ध भएका कम्पनीको लोगो छनोट गरी सजिलै आफ्नो आवश्यकताअनुरुप रकम भुक्तानी गर्न सक्नेछन्। 

यसका साथै देशभित्र कुनै पनि ठाउँमा सजिलै पैसा पठाउनका लागि ग्राहकले रेमिट्यान्स आइकनमा क्लिक गरी आफ्नो इच्छाअनुरुप सिटी एक्सप्रेस मनी ट्रान्स्फर एजेन्ट छनोट गरेपश्चात पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन्। यसरी पैसा पठाइसकेपछि प्रेषकले आफ्नो सेलपे एपमा एउटा युनिक आईडी प्राप्त गर्नेछन् र त्यस युनिक आईडी प्रेषकले प्रापकलाई दिनुपर्नेछ र प्रापकले देशैभरि रहेका विभिन्न सिटी एक्स्प्रेस मनी ट्रान्स्फरका रेमिट्यान्स एजेन्टमध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त युनिक आईडी देखाएर सरल रुपमा पैसा प्राप्त सक्ने कम्पनीले जनाएको छ।