काठमाण्डौ । नेपालका लागि बीवाईडी अटो उद्योग कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले आफ्नो ब्रान्डलाई प्रतिनिधित्व गर्नका लागि नेपाली सिने जगतका प्रख्यात व्यक्तित्व हरिवंश आचार्यसँग हातेमालो गरेको छ। 

नेपालमा विद्युतीय गतिशीलता प्रवर्द्धन गर्न दुवै पक्षबीच यही जेठ ७ गते बीवाईडी डिलर मिट २०७९ को अवसर पारी सम्झौतामा हस्ताक्षर गरिएको थियो। उक्त अवसरमा हरिवंश आचार्यले भने, ‘हालको अवस्थाले ईभीमा स्विच गर्नुपर्ने आवश्यकतालाई स्पष्ट रुपमा चित्रण गरेको छ।  विश्वव्यापी रुपमा मानिसले इन्धनबाट चल्ने कार प्रभावकारी नभएको र यो पृथ्वीकै लागि एक ठूलो खतरा भएको महसुस गरिरहेका छन्। सडकमा सफा सवारीहरुको संख्या बढाउने प्रयासमा सामेल हुन पाउँदा म धेरै खुसी छु।’

जलविद्युत् उत्पादनको सम्भाव्यतासँगै विद्युतको प्रयोग देशको अर्थतन्त्र र दिगोपनमा अत्यावश्यक हुने र राष्ट्रका आम जनतामा यसबारे थप चेतना जगाउनका लागि आचार्यले प्रमुख भूमिका निर्वाह गर्नेछन्। आफ्नो बहुमुखी अभिनयका लागि परिचित आचार्यले आफ्ना सम्पूर्ण काममार्फत दर्शकलाई अर्थपूर्ण सन्देश र नवीन विचार प्रस्तुत गर्न सफल भएका छन्। 

धेरै सामाजिक परियोजनामा काम गरी परिवर्तन निर्माताका रुपमा समेत आचार्य परिचित छन्। उनले आजसम्म गरेका काम र उत्कृष्ट जीवनशैलीका लागि प्राविधिक आविष्कारहरू सिर्जना गर्ने बीवाईडीको भिजन मिल्दोजुल्दो रहेको छ। 

ब्रान्ड एम्बेसेडरद्वारा गरिने प्रचार–प्रसारले देशभर अवस्थित नेपालीमा विद्युतीय गतिशीलता र यसका फाइदाका बारेमा चेतना जगाउने र कम्पनीको ब्रान्ड निर्माण गर्न तथा ग्राहकको विश्वास प्राप्त गरी मन जित्न उल्लेखनीय योगदान पुर्याउनेछ।

पेट्रोलियम पदार्थको मूल्य निरन्तर आकासिएको यस वर्तमान परिदृश्यमा इन्धनको संकट, जलवायु र वातावरणीय समस्याको दीर्घकालीन समाधान भनेकै विद्युतीय उत्पादनहरुको क्षमता र उपयोगलाई बढाएर दिगो भविष्यतर्फ अघि बढ्नु हो। कम्पनीको ब्रान्ड एम्बेसेडर आचार्यका साथसँगै निकट भविष्यमा नेपाललाई विद्युतीय बनाउन विद्युत क्रान्ति गर्ने लक्ष्य बीवाईडीले राखेको छ।