काठमाण्डौ । गण्डकी प्रदेशको बुटवलमा चैत २३ गते बुधबार ‘इबिमा स्टार्टअप एन्ड आइडिया फेस्ट–२०२२’ कार्यक्रम आयोजना हुने भएको छ।

डिजिटल स्टार्टअप, इन्नोभेसन र आइडियाहरुको विशेष प्रस्तुति रहने कार्यक्रममा प्रदर्शनी, पिचिङ, मेन्टरिङ सेसनहरु सञ्चालन हुनेछन्। बुटवल सिटी सेन्टरमा बिहान ११ बजेदेखि स्टार्टअप फेस्ट कार्यक्रम आयोजना हुनेछ भने सोही स्थानको पाल्म होटेलमा दिउँसो २.३० देखि डिजिटल लुम्बिनी संवाद कार्यक्रमको आयोजना हुनेछ।

प्रदेशमा रहेका स्थानीय स्टार्टअपहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना भइरहेको आयोजक संस्था लिभिङ विथ आईसिटीले जनाएको छ। पहिलो कार्यक्रम गत शुक्रबार गण्डकी प्रदेशअन्तर्गत पोखरामा कार्यक्रम आयोजना भएको थियो। 

कार्यक्रममा स्थानीय स्टार्टअप तथा विद्यार्थीका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरुलाई प्रदर्शनीमा राखिनेछ। सहभागीहरुले आफ्नो आइडिया वा प्रोजेक्टका बारेमा विज्ञ छनौट समितिसामु प्रस्तुति दिनेछन्। यसैगरी उनीहरुले आईटी क्षेत्रका सफल स्थानीय तथा काठमाण्डौका उद्यमीहरुबाट मेन्टरिङ सेसनमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन्। आयोजकले हरेक प्रदेशबाट उत्कृष्ट ५ स्टार्टअप तथा आइडिया छनौट गरी काठमाण्डौमा बिजनेस इन्क्युवेसनमा सहभागी गराउने जनाएको छ।