काठमाण्डौ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहुँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामि माघ महिनादेखि सञ्चालनमा आउने भएको छ। 

हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पुसभित्र सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने बताएका हुन्।

करिब ३ किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन्। ‘केवलकारको तल्लो स्टेसनसम्म पुग्ने करिब ४०० मिटर पहँुचमार्गको निर्माणकार्य सम्पन्न भएको छ। तल्लो स्टेसनको सब–इस्ट्रक्चरको निर्माण कार्य करिब सम्पन्न भई सुपर स्ट्रक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडि बढिरहेको छ। ९ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडि बढिरहेको छ’, ढकालले भने। 

यसका साथै ढकालले माथिल्लो स्टेशनमा सब–इस्टक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरुको आयात गर्ने काम अगाडि बढेको बताए। 

त्यसैगरी माथिल्लो स्टेसनमा रहेको मन्दिर क्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँग–सँगै सम्पन्न गर्नुपर्ने भएकोले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्तबमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको ढकालले बताए। 

ढकालले माथिल्लो स्टेसनमा प्रस्तावित होटललाई अन्तर्राष्ट्रिय चेन–होटलसँग आबद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदाताहरुसँग छलफल भइरहेको जानकारीसमेत गराए।

केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेका थिए।