काठमाण्डौ । विश्व लगानी सप्ताहका अवसरमा धितोपत्र कारोबारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ। 

मुलुकभरका लगानीकर्तालाई सम्बन्धित क्षेत्रको ज्ञान तथा सचेतना अभिवृद्धि गर्न ब्रोकर कम्पनी, मर्चेन्ट वैंकरलगायत सम्बद्ध सरोकारवाला संस्थाहरुलाई शाखा विस्तार भएको स्थानहरु तथा सम्भावित क्षेत्रमा लगानिकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गर्न सेबोनले आह्वान गरेको थियो। यसै अवसरमा सेबोनको सहजीकरणमा भिजन सेक्युरिटिज प्रालिले गत शनिबार म्याग्दीको बेनी बजारस्थित होटेल शिखरमा कार्यक्रमको आयोजना गरी सो क्षेत्रका लगानीकर्ताहरुसँग साक्षात्कार गरिएको थियो। 

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको प्रमुख आतिथ्यतामा अन्य संघसंस्थाका प्रमुखहरु, स्थानीय निकायका प्रतिनिधिहरु, व्यवसायीहरुलगायत लगभग १२५ जना लगानीकर्ताहरुको उपस्थिति थियो। 

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले लगानी गर्नुपूर्व सम्बन्धित क्षेत्रको जानकारी लिएरमात्र लगानी गर्नुपर्नेमा जोड दिए। नीति, नियम तथा प्रक्रियागत व्यवस्थाका बारेमा सेबोनका निर्देशक ऋषिराम पण्डितले प्रशिक्षण गरेका थिए भने सेयर बजार जोखिमको क्षेत्रसमेत भएकोले लगानी गर्नुपूर्व के–कस्ता विषयमा ध्यान दिनुपर्दछ भन्ने विषयमा भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले प्रशिक्षण दिएका थिए। 

यसका साथै भिजन सेक्युरिटिजले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निकट भविष्यमा आफ्नो शाखा रहेको क्षेत्र दमौली र कावासोतीमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गरिने योजना रहेको पनि जनाएको छ।