काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले दुईतिहाईको बलियो सरकार बनेसँगै अर्थतन्त्रका अधिकांश सूचकमा सकारात्मक परिवर्तन देखिए पनि बैंकहरु ब्याजदरमा अनियन्त्रित देखिएका भन्दै नियन्त्रणमा खरो उत्रन आग्रह गरेका छन् ।
राजधानीमा बिहीबारदेखि सुरु भएको १७ औं हस्तकला व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
मञ्चमा उपस्थित अर्थमन्त्रीतर्फ इङ्गित गर्दै उनले देशमा लगानीयोग्य रकमको अभाव सबैभन्दा ठूलो समस्याको रुपमा रहेको र यसले उद्यम गर्नेहरुमा निराशाको वातावरण पैदा गरेको बताए ।
उनले लगानीयोग्य रकमको अभावको सकस भोगिरहेको बेला बल्लतल्ल प्रवाह हुने ऋणको ब्याजमा बैंकहरुले मनपरी गरिरहेका आरोप लगाए ।
‘बैंकहरुले अनियन्त्रित ब्याज असूलिरहेका छन् । यसलाई रोक्न नेपाल राष्ट्रबैंकले तत्काल कडा कदम चाल्नुपर्छ’ उनले भने–‘सरकारले पनि यो विषयमा गम्भीरतापूर्वक ध्यान देओस् ।’
उनले करदाताले तिरेको करको सदुपयोग गर्ने सरकारको दायीत्व रहेको उल्लेख गर्दै करदातालाई निराश पार्ने काम नगर्न अर्थमन्त्रीसमक्ष आग्रह गरे । अनिवार्य प्यानले साना व्यवसायीलाई मर्का परेको उल्लेख गर्दै यसमा सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
गोल्छाले पूर्वाधारको विकास मात्र गर्नसके पनि नेपालमा विदेशी लगानी पर्याप्त आउने, तर विदेशी लगानी भित्र्याउने क्षेत्रको विषयमा सरकारले स्पष्त हुन आवश्यक रहेको सुझाव दिए । ‘सबै क्षेत्रमा वैदेशिक लगानी चाहिएको छैन । हस्तकलामा विदेशी लगानी चाहिएको छैन । मौलिक पहिचान बोकेको यो क्षेत्रमा वैदेशिक लगानी आए के होला ? आफैं कल्पना गर्नुहोस् । हाम्रो पहिचान हराउनेछ ।’ उनले थपे–‘हामी आत्मनिर्भर भइसकेको क्षेत्रमा विदेशी लगानी चाहिन्न।
उनले हस्तकला उद्योगको प्रवद्र्धनका लागि सरकारले चाँडै विशेष सहयोग प्याकेज घोषणा गर्नुपर्नेमा जोड दिए । बजार प्रवद्र्धन र विदेशी हस्तकलासँगको प्रतिस्पर्धा गर्नसक्ने बनाउन नयाँ प्रविधिलाई प्रवेश गराउने विषयमा समेत सरकारले सहयोग गर्नुपर्ने उनको माग छ । हस्तकला उद्योग गर्नेहरुलाई सरकारले सहज रुपमा ऋणको व्यवस्था गरिदिनुपर्ने समेत उनले बताए ।
हस्तकलाको प्रवद्र्धनका लागि सरकारबाटै तालिमकेन्द्रको व्यवस्था हुनुपर्ने र युवाशक्तिलाई यो क्षेत्रमा आकर्षित गरिनुपर्नेमा उनको जोड छ । उनले हस्तकला र पर्यटनलाई जोडेर अगाडि बढ्न सके दुवै क्षेत्र लाभाविन्त हुने सुझाव समेत दिए ।
कार्यक्रममा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोर र नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि बोलेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago