 
                     
                                
                             
                                    काठमाण्डौ । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलोपटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याएको छ। नबिल बैंकले आज बिहीबार भर्चुअल कार्यक्रम गरी एनबैंक (नियो बैंक) को शुभारम्भ गरेको हो।
बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एन्ड अपरेसनका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्त रुपमा एनबैंकको शुभारम्भ गरेसँगै नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ। मोबाइल बैंकिङ एपलाई पूर्णरुपमा परिमार्जन गरीे एनबैंकको शुभारम्भ गरेर नबिल डिजिटल बैंकिङको नेतृत्व गर्न सफल पहिलो बैंक भएको छ।
नबिल बैंकले एनबैंकलाई एक छुट्टै भर्चुअल शाखाका रुपमा स्थापना गरेको हो। नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले एनबैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दीगो बैंकिङमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चौधरीले भने, ‘एनबैंकको शुभारम्भसँगै अब बैंकिङ क्षेत्रमा ‘परिवर्तन’को नेतृत्व नबिल बैंकले गर्नेछ। ग्राहकहरुले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैंकिङ सेवाहरु प्राप्त गर्न सक्ने यो नवीन प्रविधिले बैंकिङमा नयाँ तरङ्ग ल्याएको छ।’
उपभोक्ताले विश्वस्नीयता र व्यक्तिगत अनुभवद्वारा मूल्यांकन गर्ने उल्लेख गर्दै उनले भने, ‘एनबैंक कुनै पनि भौतिक शाखाविनाको निजीकृत भर्चुअल बैंकिङ हो।’
बैंकका अनुसार ग्राहकले आफ्नो साथमा रहने मोबाइल फोनको सहायताले एनबैंकको उपयोगमार्फत खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवाहरु सजिलैसँग लिन सक्नेछन्। एनबैंकले समय र लागतमा ठूलो बचत हुने बताउँदै उपाध्यक्ष चौधरीले अबको बैंकिङ भविष्य डिजिटल बैंक नै रहेको स्पष्ट गरेका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले डिजिटल बैंकको नेतृत्व गर्न पाएकोमा खुसी व्यक्त गरे। ‘एनबैंकको औपचारिक शुभारम्भ भएको घोषणा गर्न पाउँदा म हर्षित छु। हामीले सबै डाटा माइग्रेसन र प्रणाली अपग्रेड पूरा गरेका छौँ र आज नबिल स्मार्टबैंक एप उत्कृष्ट बैंकिङ अनुभवको लागि एनबैंकमा परिणत भएको छ’, अनलाइन बैंकिङ रोज्ने ग्राहकलाई एनबैंकले आफ्नो खाता खोल्नेदेखि डिजिटल ऋण प्राप्त गर्नेसम्मका सेवा दिने उनले बताए।
नबिल बैंकका डीसीईओ विनयकुमार रेग्मीले नेपाली बैंकिङ उद्योगमा नवयुगको सुरुआत भएको बताए। ‘आज पूर्णतया डिजिटल बैंक, एनबैंक शुभारम्भ गरेर नेपाली बैंकिङ उद्योगमा नवयुगको सुरुवात भएको छ,’ रेग्मीले भने, ‘नबिल बैंकले डिजिटल प्रविधिमा अगुवाई गरिरहेको छ, हामीले डिजिटल उत्पादन र सेवाहरु सिर्जना गरेका छौँ, जसले तपाइँको बैंकिङ सेवा लिने तरिकालाई पूर्ण रुपमा परिवर्तन गर्नेछ।’
के हो एन बैंक, कसरी उपयोग गर्ने ?
एनबैंक (नियो बैंक) – मोबाइल बैंकिङ एपलाई पूर्ण रुपमा परिमार्जन गरेर नेपालमा पहिलोपटक नबिल बैंकले सुरु गरेको डिजिटल बैंक हो। यस पहिले नै नबिल स्मार्टबैंक एप प्रयोग गरिरहेका ग्राहकहरुले अपडेट प्राप्त गर्छन् जहाँ लोगोे ‘ए’ बाट एनबैंकको ‘एन’ मा परिणत हुन्छ। यसबाहेक नयाँ र आधुनिक प्रयोगकर्ता इन्टरफेस प्रदान गर्न एपको लुक एन्ड फिल अपडेट गरिएको छ।
नबिल बैंकमा खाता नखोलेकाहरुले पनि अब आफ्नो मोबाइलमा रहेको एनबैंक एपबाट बैंक खाता खोल्न सक्नेछन्। एनबैंकमार्फत खाता खोल्न जम्मा ३० सेकेन्ड लाग्ने नबिल बैंकको दाबी छ।
एनबैंक एपबाट ग्राहकहरुले अब सीधै आफ्नो बैंक खाता खोल्नेदेखि ऋणका लागि आवेदन दिनसम्मका सम्पूर्ण गतिविधिहरु गर्न सक्नेछन्।
यस्ता छन् एनबैंकका प्रमुख ५ विशेषता
१. ३० सेकेन्डमै खाता खोल्न सकिने
एनबैंक एपबाट ३० सेकेण्ड भित्रै एनसेभिङ् खाता खोल्न सकिनेछ। खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्म मिति, ई–मेल ठेगाना, मोबाइल नम्बर र नागरिकता नम्बर मात्र भर्नुपर्नेछ। खोलिएको खाता ग्राहकहरुले आफ्नो केवाईसी अद्यावधिक गर्नुभन्दा पहिले १५ दिनको लागि सञ्चालन हुनेछ, जुन उनीहरुले आफ्नो एनबैंक एपबाट सीधै गर्न सक्नेछन्।
२. डिजिटल ऋण
ग्राहकहरुले आफ्नो एनबैंक एपबाट सीधै ऋणको लागि डिजिटल आवेदन दिन सक्छन्। नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिनेछ।
ग्राहकले आफ्नो ६ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोनलोन प्राप्त गर्न सक्छन्। बैंकको एल्गोरिदमले उपयुक्त क्रेडिट सीमा निर्धारण गर्दछ र योग्य ग्राहकले ऋणको लागि दर्ता गर्न सक्छन् र ग्राहकको एनबैंक एपबाट सीधै तोकिएको सीमासम्म आवेदन दिन सक्छन्। यसको लागि बैंक धाउनुपर्ने, अन्य कुनै कागजी कार्य गर्नुपर्ने छैन।
३. एन–रेमिट
नेपाल भित्र पैसा पठाउने बाहेक, विदेशमा बस्ने ग्राहकहरुले एनरेमिट छनोट गरेर आफ्नो मास्टरकार्ड वा भिसा कार्डहरु प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैंकहरुबाट सिधै नबिल बैंकको खातामा पैसा पठाउन सकिनेछ। प्रेषक र प्रापक विवरणहरुसहित (यूएसडीमा) पठाइने रकमसहितको फारममात्र भरे पुग्नेछ। प्राप्तकर्ताले केही सेकेन्डमा नबिल बैंक खातामा पैसा सीधै प्राप्त गर्न सक्नेछ।
४. अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरेर दर्ता सुविधा
विदेशमा बस्ने ग्राहकहरुले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एनबैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्नेछन्। विदेशमा बस्ने ग्राहकहरुले नबिल बैंकबाट एसएमएस अलर्ट, ओटीपी, सूचनाहरु तथा समाचार र अलर्टहरु पनि प्राप्त गर्नेछन्।
५. चौबीसै घन्टा सातै दिन सेवा
बैंकले आफ्ना ग्राहकलाई बैंकको कस्टमर केयर सेन्टर र भिडियो केवाईसीमार्फत चौबीसै घन्टा सेवा प्रदान गर्नेछ। एनबैंकको कुनै सेवा प्रयोग गर्दा आउन सक्ने समस्यालाई तुरुन्तै समाधान गर्ने मनसायले यो सुविधा सञ्चालन गरेको छ।
माथिका बाहेक ग्राहकले आफ्नो एपबाट सीधै बैंकिङ सेवाहरुको होस्टका लागि आवेदन दिन सक्छन्–
क) नयाँ डेबिट कार्ड
ख) डेबिट कार्ड प्रतिस्थापन
ग) क्रेडिट कार्ड
यसबाहेक निम्न सूचना सेवाहरु पनि एपबाट पहुँच गर्न सकिन्छ–
क) सम्पर्क
ख) शाखाहरु/एटीएमहरु
ग) ब्याजदर
घ) विनिमयदर
ङ) इएमआई क्याल्कुलेटर
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19