काठमाण्डौ । बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकमार्फत नेपाल पेस क्यूआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ। 

छोटो अन्तरालमा ३ लाखभन्दा बढी मर्चेन्ट क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआरसम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ। 

नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डअनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो। क्यूआर स्किमका रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ। हाल २३ बैंक तथा वित्तीय संस्था र ३ भुक्तानी सेवा प्रदायकमार्फत व्यावसायिक ग्राहकले नेपालपे क्यूआरमा आबद्ध हुन सक्दछन् भने  २१ बैंक तथा वित्तीय संस्था र ६ भुक्तानी सेवा प्रदायकका वालेटमार्फत स्क्यान एन्ड पेको सुविधा उपलब्ध रहेको छ।  

विभिन्न व्यावसायिक ग्राहकले नेपालपे क्यूआरमा आबद्ध भई क्यूआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवाप्रदाय सँग सम्पर्क गर्नुपर्ने हुन्छ। भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा ई–कमर्श पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एन्डरोइड पीओएसमा इन्टिग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ। 

धेरैजसो बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आईपीएस मोबाइल एपमार्फत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ। नेपालपे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्ने अप्सनमा गई नेपालपे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ।