काठमाण्डौ ।ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिता ‘आईईएलटीएस प्राइज-२०२३’ का विजेताहरूको नामावली घोषणा गरेको छ ।

शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवा पुस्ताहरूलाई मद्दत गर्न यस प्रतिस्पर्धामार्फत काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आईईएलटीएसका परीक्षार्थीहरूलाई विश्वविद्यालयको ५ हजार डलर (८ लाख ४० हजार नेरू) सम्मको ट्युशन शुल्कमा टेवा दिनेछ ।

यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इन्डोनेशिया, कोरिया, मलेशिया, फिलिपिन्स, सिंगापुर ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश पाकिस्तान, नेपाल र श्रीलंकाबाट आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीका लागि खुला गरिएको थियो ।

प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत तीन जना विजेताहरूको नाम चयन गरिएको छ । यो वर्षका लागि नेपालका विजेता रिजु अधिकारीले प्रथम पुरस्कार वापत ५ हजार, उज्ज्वल भेटुवाल  द्वितीय पुरस्कार वापत २ हजार र रिशिका शाहले तृतीय पुरस्कार वापत १ हजार डलर प्राप्त गरेका छन् ।

यसबाहेक आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीहरूमध्ये केहीले पनि आईईएलटीएस उपहार पाएका छन् ।ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडगलले ६० वर्षभन्दा बढी समयदेखि नेपालको शिक्षामा भइरहेका सुधारलाई टेवा दिँदै युवाजनशक्तिलाई  पूर्ण सम्भावना हासिलका अवसर सृजना गरिरहेको बताएका छन् ।