काठमाण्डौ । क्यापिटल मार्केट ट्रेनिङ इन्स्टिच्युटको आयोजनामा शनिबार भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) का कर्मचारीहरुलाई वृत्ति विकास तालिम प्रदान गरिएको छ। 

नेपालको पुँजीबजारसँग आबद्ध रहेका नियामक निकाय, स्टक ब्रोकर, निक्षेप सदस्य, राफसाफ सदस्य, मर्चेन्ट बैंकरका कर्मचारीलाई आवश्यक तालिम प्रदान गरी वृत्ति विकासमा महत्व पूर्ण योगदान गर्ने उद्देश्यका साथ स्थापित इन्स्टिच्युटले पहिलो कार्यक्रमका रुपमा भिजन सेक्युरिटिजमा कार्यरत कर्मचारीलाई काठमाण्डौको अनामनगरको हलमा तालिम दिएको हो। 

तालिममा पहिलो सत्रमा सीडीएस एन्ड क्लियरिङका डाटाबेस एन्ड एमआईएस सेक्सन आईटी डिपार्टमेन्ट प्रमुख योगराज जोशीले ग्राहकको ब्रोकर खाता तथा डिम्याट खाता खोल्दा ध्यान दिनुपर्ने कुरा, कम्लाइन्स, आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐन तथा नियमावलीहरुको विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको थियो। दोस्रो सत्रमा इन्टरनेसनल कर्पोरेट ट्रेनर मानुषी अग्रवालले ग्राहकसँगको सम्बन्ध, प्रस्तुतीकरण, गुनासो सुनुवाइ, समस्याको समाधान, गुणस्तरीय सेवा प्रवाह, ग्राहक सन्तुष्टिलगायतका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्। 

तालिममा कम्पनीका उपत्यकाभित्र र बनेपा शाखाका कर्मचारी गरी जम्मा ३८ जाना प्रत्यक्ष सहभागी तथा अन्य विभिन्न शाखाबाट भर्चुअल माध्यमबाट २२ जाना कर्मचारी गरी जम्मा ६० जाना कर्मचारीको सहभागिता थियो।

नेपालको पुँजीबजारमा आबद्ध संस्थाहरुका कर्मचारीहरुलाई समय–समयमा यस्तो प्रकारका तालिमहरु प्रदान गरी गुणस्तरीय सेवा प्रवाह गर्न कर्मचारीहरुको वृत्ति विकास गर्नुपर्ने नियमकीय प्रावधानसमेत रहेको छ। इन्स्टिच्युटले भिजन सेक्युरिटिजसँग समन्वय गरी यस प्रकारको तालिम आयोजना गरेकोमा जोशीले सफलता तथा निरन्तरताका लागि शुभकामना व्यक्त गरे। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा धेरै संघसंस्थाहरुमा संस्थागत  तालिमकर्ताका रुपमा प्रशिक्षण दिए पनि पहिलोपटक ब्रोकर कम्पनीका कर्मचारीहरुसँग आफ्ना अनुभव तथा विषयहरु साटासाट गर्न पाएकोमा अग्रवालले खुसी हुँदै धन्यवाद दिइन्। 

कार्यक्रममा भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले दुवै जना प्रशिक्षकलाई धन्यवाद दिँदै यस्ता प्रकारका कार्यक्रमले सम्बद्ध कम्पनीहरुले प्रदान गर्ने सेवाको गुणस्तर बढ्ने हुँदा यस्ता कार्यक्रमहरुको निरन्तरताका लागि जोड दिएका थिए। 

नेपालको पुँजीबजारमा आबद्ध संस्थाहरुका कर्मचारीहरुको वृत्ति विकास नै प्रमुख उद्देश्य भएकाले सम्बन्धित संस्थाहरुसँग समन्वय गरी इन्स्टिच्युटले आगामी दिनमा यस प्रकारका तालिमलाई निरन्तरता दिनेसमेत भिजन सेक्युरिटिजले जानकारी दिएको छ।