काठमाण्डौ । देशभर छाएको बाम गठबन्धनको लहरले धेरै हेभिवेट भनिएका नेताहरुलाई हारको धूलो चटाइसकेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि हेभिवेट भनिएका कृष्ण सिटौला, डा. रामशरण महत, विश्वप्रकाश शर्मा, विमलेन्द्र निधि लगायतका दर्जनौ नेताले हार व्यहोरिसकेका छन् । यही क्रममा चुनावअघि फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समाहित गरेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारको क्षेत्रमा सबैको ध्यान केन्द्रीत छ । सुनसरीको निर्वाचन क्षेत्रनम्बर ३ मा कसले बाजी मार्ला ? धेरैले यही प्रश्न गरिरहेका छन् । 

हामीले यो प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छौ । पछिल्लो मतपरिणाम अनुसार सुनसरी ३ नम्बर क्षेत्रमा बाम गठबन्धनको तर्फबाट एमाले उम्मेद्वार भगवती चौधरीसँगको मतान्तर विजयकुमार गच्छदारले घटाएर साढे ८ सयको हाराहारीमा झारिसकेका छन् । अब पनि गच्छदारले मतान्तर घटाउलान् ? वा भगवतीले बदला लेलिन् ? 

स्थानीय संचारकर्मीहरुका अनुसार गच्छदारको प्रभाव क्षेत्रमा भएको मतगणनापछि उनी भगवतीसँगको मतान्तर घटाउन सफल भएका हुन् । तर, अब अवस्था त्यस्तो छैन । सुनसरी क्षेत्रनम्बर ३ को अब ३० वटा मतपेटिकाको गणना गर्न बाँकी छ । अब गणना हुने क्षेत्र गच्छदारको नभई भगवतीको प्रभाव क्षेत्र हो । 

स्रोतका अनुसार अब सो क्षेत्रमा २३ हजारको हाराहारीमा मत गन्न बाँकी छ । तर, गन्न बाँँकी रहेको सबै वडा भगवतीको प्रभाव क्षेत्र रहेकोले उनले यसपटक गच्छदारलाई सहजै पछार्नेछिन् । 

भगवती चौधरी दोश्रो संविधानसभा निर्वाचनमा झिनो मतान्तरले गच्छदारसँग पराजित भएकी थिइन्। 

जारी मतगणनाको बीच हामीले भगवती चौधरीलाई पनि फोन गरेर अवस्था के छ भनी सोधेका थियौं । हाम्रो जिज्ञासामा चौधरीले भनिन्–‘उहाँको क्षेत्रमा भएको गणनाले मतान्तर केही घटेको हो । अब मेरो क्षेत्र सुरु भयो । म सुविधाजनक मतान्तरले गच्छदारजीलाई जित्दैछु।’