काठमाण्डौ । आउँदो भदौ १५ गतेदेखि इलेक्ट्रोनिक्स एन्ड होम अपलाइन्सेस एक्सपो हुने भएको छ। 

भदौ १७ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलमा एक्सपो चल्नेछ। विद्युतीय, विद्युतीय उपकरण र ऊर्जासँग सम्बन्धित प्रदर्शनी यो एक्सपोको दोस्रो संस्करण हो । नेपालको पहिलो एकमात्र बृहत् अन्तर्राष्ट्रिय ऊर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी हो। जुन मिडिया स्पेस सोलुसन्सका साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको हो।

प्रदर्शनीले आधारभूत रुपमा तीन सोचको समायोजन गर्न खोजेको छ – प्रदर्शनी, सम्मेलन र साझेदारी । यी तीन सोचबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरबारमा प्रयोग हुने विद्युतीय सामग्री तथा ऊर्जासँग आबद्ध विभिन्न उद्योगले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसर निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्दछ । यी उद्योग नेपालमा सबैभन्दा बढी माग भएका क्षेत्रमध्ये एक हुन् र दक्षिण एसियाली क्षेत्रभित्र द्रुत रुपमा वृद्धि भइरहेका पनि छन्।

नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजस्व सन् २०२३ मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको थियो। इलेक्ट्रोनिक्स क्षेत्रमा सन् २०२७ सम्ममा प्रयोगकर्ताको संख््या १.३९ करोड पुग्ने अपेक्षा गरिएको छ। उपभोक्ताले प्रयोजन गर्ने इलेक्ट्रोनिक्स सामान जस्तै एयर कन्डिसनर, इलेक्ट्रिक फ्यान र फ्रिजको माग बढेको छ। जसका कारण पनि यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सरोकारवाला ध्यानाकर्षण हुनु आवश्यक छ। 

नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएका कारण पनि यो प्रदर्शनीमा भारतीय उपमहाद्वीप (भारतवर्ष) का सरोकारवालाको सहभागिता उल्लेखनीय हुनेछ । विद्युतीय उपकरणको हकमा नेपालमा घर–घरमा लगभग सबै प्रकारका विद्युतीय उपकरणको प्रयोग हुने गर्द । आमनेपाली जनमानसले घरका हरेक कुनामा विद्युतीय उपकरण प्रयोग गर्नैपर्ने हुन्छ।  

प्रदर्शनीमा आगन्तुकलाई प्रवेश निःशुल्क गराइएको छ। यसका साथै विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रम पनि गराइनेछ।

नेपाल इलेक्ट्रिक इलेक्ट्रोनिक्स पावर लाइट तथा होम अपलायनसेससम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि दर्ता खुला भइरहेको छ।