काठमाण्डौ । काठमाण्डौमा यही भदौ २५ गतेदेखि सातौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१९ आयोजना हुने भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा एक्स्पो हुन लागेको हो । प्रदर्शनीस्थलको भौतिक काम बाहेकको सबै तयारी पूरा भइसकेको संघका अध्यक्ष रुपेश प्रधानले बताए। विगत वर्षको तुलनामा परिष्कृत रुपमा मेला आयोजना हुन लागेको उनले जानकारी दिए।

बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाई छ ।

यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको विश्वास छ।

फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् ।

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले समर्थन गरेका छन् । यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसीएसनले सहयोग गरेका छन् ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए। नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै संयोजक अग्रवालले नेपाल फर्निचरमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको बताए।

प्रदर्शनीमा फर्निचरको प्रदर्शनीमात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाइ छ । यसका अलावा फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ 

एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ ।

पाँच दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १२० हाराहारीमा फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन् । सन् २०१२ देखि नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको छ ।