काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डमा यही भदौ ३१ गतेबाट ‘सेन्चुरी फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी–२०२२’ हुने भएको छ।

असोज २ गतेसम्म हुने एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित रहनेछ। नेपालमा यस क्षेत्रको वृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो हो। 

विगतका दशकमा होटेल, रेस्टुरेन्ट, बार, क्याफे, बेकरी र पार्टी प्यालेसहरु अपेक्षाभन्दा धेरै बढेका छन्। त्यसैगरी टेक–अवे फुड आउटलेट, फाष्ट फुड क्याफे, किराना पसल र सुपरमार्केटहरु उल्लेख्य संख्यामा खुलेका छन्।

गत कोरोनाकाल अर्थात् तीन वर्षपश्चात विगतका वर्षहरुमध्ये यस वर्ष पनि हुन लागेको यो एक्सपो सबैभन्दा महत्वपूर्ण संस्करण हुनेछ। कोरोनाकालपश्चात धेरै क्रेता, बिक्रेता र व्यवसायीहरु कोभिड महामारीको चपेटामा पर्दै आइरहेका छन्। यसकारण यस वर्षको यो एक्सपोमा सबै खरिददार र बिक्रेताहरु बजारमा पुरानामध्ये को–को अझै कायम छन् र नयाँ को–को आएका छन् हेर्न आतुर छन्। 

सन् २०१५ को भूकम्प, कोरोना महामारीजस्ता कहालीलाग्दा प्रकोपले देशको सम्पूर्ण क्षेत्रमा ठूलो मात्रामा फेरबदल गर्दछ। बजारमा कुन–कुन फुड, बेभरेज एन्ड हस्पिटालिटी कम्पनी छन् र हाल के–के गर्दैछन् भनी बुझ्न र उद्योगका सरोकारवालाहरुको बजार रुपान्तरणमा सुरक्षित अवतरण सुनिश्चित गर्न यो एक्सपोमा भ्रमण गर्न आयोजकले आग्रह गरेको छ। 

हाल पूरा विश्व नै यस्ता चुनौतीबाट गुज्रिरहेको बेलामा यो एक्सपो आयोजना हुँदैछ। ‘यो एक्सपोमा पहिलेभन्दा धेरै प्रतिस्पर्धी, सोर्सिङ र सुरक्षित आपूर्तिहरुबारे जानकारी पाउन सकिनेछ तसर्थ यो एक्सपो धेरै महत्वपूर्ण छ’, आयोजकले भनेको छ। 

यो एक्सपोले लगभग ३० हजार आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। जसमध्ये व्यापारिक आगन्तुक १२ हजारभन्दा बढी हुने अपेक्षा गरिएको छ। यसले होटेल व्यवसायी, रेस्टुरेन्ट सञ्चालक तथा प्रबन्धक, क्लब, बार, पब मालिक तथा प्रबन्धक, पार्टी प्यालेसका मालिक तथा प्रबन्धक, क्यान्टिन सञ्चालक, स्कुल, कलेज, होस्टल र अस्पतालहरु, खाना पकाउनेहरु, शेफहरु, बारटेन्डरहरु, सुपरमार्केट, किराना पसल र स्टोर मालिक तथा   प्रबन्धक, बेकरी, स्न्याक्स र प्रशोधित खाद्य उत्पादक, कृषि प्रशोधन उत्पादकलगायतलाई यो एक्सपो विशेष आकर्षित गर्ने आयोजक बताउँछन्।

यस कार्यक्रममार्फत आगन्तुकले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाका बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन्। यहाँ करिब ६०% विगत वर्षबाट र बाँकी नयाँ (पहिलो पटक) प्रदर्शकहरु रहने एक्सपोमा करिब १५० कम्पनीहरुबाट करिब ५ हजार उत्पादन र सेवाहरु प्रस्तुत गरिनेछ।

यसबाहेक कार्यक्रममा कम्पनीहरुले आफ्ना प्रडक्टको विशेषता, स्किम वा अफर्स, स्वाद आदिका बारेमा विस्तृत  जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थको स्वाद लिन यो एक उत्कृष्ट अवसर हो। यसका साथै यो कार्यक्रम फुड, बेभरेज एन्ड हस्पिटालिटीबारे अवलोकन गर्न, अन्तर्क्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरु बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरुका लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजक बताउँछन्। 

नेपालीको महान् चाड दसैँतिहार साथै अरु ठूला चाडपर्व जस्तै– क्रिसमस, नयाँ वर्ष र विवाह समारोहलगायतमा मीठा–मीठा परिकारहरु पस्कन यो एक्सपोले ठूलो सहयोग पुर्याउनुका साथै सबै खाना र पेयसम्बन्धीको जीवनशैलीमा एक्सपोले अनुकरणीय भूमिका खेल्न सक्नेछ।