काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल एमालेले स्थगित भएको भरतपुर महानगरपालिकाको मतगणना ततकाल अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । 

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले राति फेसबुकमार्फत प्रेस नोट सार्वजनिक गर्दै आफूलाई लोकतन्त्रवादीका रुपमा पहिचान गाउन चाहनेले लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गर्न नसकेकोमा आश्चर्य व्यक्त गरेका छन् । 

'लोकतन्त्रप्रतिको ओठेभक्तिको कुनै अर्थ छैन ।' उनले भनेका छन्-'हठ, घमण्ड तथा उदण्डताले कुनै ब्यक्ति वा समूहलाई क्षणिक लाभ भए अन्ततः नेपाल राष्ट्रको शिर निहुरिने कुराप्रति सबैलाई सचेत रहन ध्यानाकर्षण गर्दछु ।' 

उनले चितवनका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई संयमतापूर्वक र दृढताका साथ मोर्चामा क्रियाशील रहन निर्देशन समेत दिएका छन् । भरतपुरप्रति सिंगो एमालेको साथ, समर्थन र ऐक्यबद्धता रहेको समेत जानकारी गराउँदछु। उनले अगाडि थपेका छन्–‘तथ्यहीन समाचार र प्रचारबाजीको भ्रममा नपर्न समेत निबेदन गर्दछु ।’

स्मरणरहोस्, केही मिडियाहरुले भरतपुरमा प्रचण्डपुत्रीलाई जिताउन एमालेका शीर्ष नेताहरुबीच प्रचण्डको गोप्य छलफल भएको र संविधानसभाको दोश्रो निर्वाचनमा प्रचण्डलाई सिरहाबाट जिताइए झै रेणुु दाहाललाई समेत जिताउन खोजिएको भन्दै समाचार लेखेका थिए ।