काठमाण्डौ । कांग्रेस, माओवादी र राप्रपाका नेता तथा कार्यकर्ताले धाँदली गरेको आरोप लगाइएका भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले प्रष्टीकरण दिएका छन् । 

उनले बिजशालाका स्थानीय प्रतिनिधिसँग कुरा गर्दै आफूलाई राजनीतिक दलका नेताहरुले फसाउन खोजेको दाबी गर्दै भने–‘मैले र मेरा कर्मचारीहरुले विवादमा आउने खालका त्यस्तो काम गरेका छैनौ । हिम्मत भए प्रमाणित गरेर देखाउन म चुनौति दिन्छु।’

मतगणनास्थलमा राजनीतिक दलहरुबीच स्थगित भएको मतगणना सुचारु गर्ने बिषयमा केहीबेरअघि राखिएको छलफल निश्कर्षमा पुुग्न सकेको छैन । 

अहिले पनि मतगणनास्थल बाहिर कांग्रेस, माओवादी र राप्रपाका कार्यकर्ताहरुले प्रदर्शनलाई जारी राखेका छन् । मतगणनास्थलअगाडि होहल्ला भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको चितवनका प्रहरी प्रमुख दीपक थापाले बताएका छन् । 

यसैबीच, पूर्वी चितवनको खैरहनीमा बिहिबारदेखि रोकिएको मतगणना शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको छ । अर्धकट्टी अनुसार आएका मतपत्र गणना गर्ने दलहरुबीचको सहमतिपछि मतगणना सुरु भएको निर्वाचन अधिकृत टेकराज निरौलाले जानकारी दिए । मतदानको दिनमा मुचुल्का उठाएका बेलाको मतपत्रको संख्या र मतपेटिकामा हाल भएको संख्या नमिलेपछि यहाँ मतगणना बिहीबार ४ बजेदेखि रोकिएको थियो । सो विषयमा आयोगलाई जानकारी दिई अर्धकट्टी अनुसार मतगणना गर्ने सहमतिपछि गणना सुरु भएको हो । 
(चितवनबाट प्रनिश थापाको सहयोगमा)