काठमाण्डौ । प्रधानमन्त्री पुुष्पकमल दाहाल(प्रचण्ड)की पुत्रीको उम्मेद्वारीका कारण चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकामा एमालेले मत अन्तरलाई फराकिलो बनाउँदै लगेको छ । 

राति ११ः३० बजेको मत परिणाम अनुसार एमालेको तर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवालीले माओवादी केन्द्रकी उम्मेद्वार रेणुु दाहाललाई १७३६ मतले पछाडि छाडेका छन् । देवी ज्ञवालीको २० हजार १ सय ७६ मत छ भने दाहालको १८ हजार ४ सय ४० मत आएको छ । 

भरतपुरमा १ लाख १२ हजार ९ सय ७ मत खसेकोमा हालसम्म ४७ हजार ५ सय भन्दा बढी गणना गरिसकिएको छ । 

माओवादी र कांग्रेसको गठबन्धनको तर्फबाट रेणुु दाहाल मेयरमा उठेकीले समेत यो क्षेत्रको जितहारसँग तीन ठूला दलले आफ्नो प्रतिष्ठाको बिषय बनाएका छन् । कांग्रेस र माओवादी मिल्दा समेत एमालेले अग्रताको अन्तरलाई फराकिलो बनाउँदै लगेपछि यसले रोचक मोड लिने अपेक्षा गरिएको छ । अब गन्न बाँकी वडाहरुमध्ये केही कांग्रेसको इलाका मानिएकोले समेत अवस्था के हुने भन्नेमा सबैमा कौतुुहुल छ । 

मेयरमा एमालेको अग्रता भए पनि उपमेयरमा भने कांग्रेसकी पार्वती शाहले अग्रता लिइरहेकी छिन् । शाहले २१ हजार ३२ मत ल्याउँदा एमालेकी दिव्या आचार्यले १७ हजार ५ सय ३२ मत ल्याएकी छिन् ।